पत्रकार राजु श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग

रासस

विहीबार, २२ साउन २०७७, १२ : २५
पत्रकार राजु श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग

तनहुँ । दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका पत्रकार राजु श्रेष्ठको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ ।

बिहीबार मात्रै अष्ट्रेलियामा रहँदै आएका तनहुँवासीद्वारा गठित संस्था अष्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि १ लाख ८१ हजार ४ सय ५ रुपैयाँ सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको छ । 

उक्त रकम सामाजिक अभियानकर्मी लक्ष्मीभक्त खनाल, सरोज भण्डारी, मनबहादुर रुचाललगायतका व्यक्तिले मिर्गौलापीडित श्रेष्ठको घर चितवन पुगेर हस्तान्तरण गरे । 

अष्ट्रेलिया रहेका विद्यार्थी तथा व्यावसायिक नेपाली नागरिकको सहयोगमा दिनेश खनाल अध्यक्ष रहेको अष्ट्रेलिया तनहुँ समाजले उक्त सहयोग रकम सङ्कलन गरेर पठाएको हो । 

तनहुँका विभिन्न पत्रिका तथा टिभी र सामाजिक सञ्जालमार्फत मिर्गौलापीडित राजु श्रेष्ठको जीवनरक्षाको खबर पाएसँगै सहयोगका लागि रकम सङ्कलन गरी पठाइएको समाजका महासचिव सूर्य खनालले बताए । 

उपचारका लागि हालसम्म करिब २२ लाख रुपैयाँ सहयोग सङ्कलन भइसकेको पत्रकार श्रेष्ठले जानकारी दिए । अहिले डायलायसिस गर्न थालेको उनले बताए । 

१ हजारदेखि माथि प्रायः दैनिकजसो बैंक खातामा सहयोग रकम जम्मा हुँदै आएकाले पतिलाई बचाउन सक्छु भन्ने आत्मबल बढ्दै गएको उनकी पत्नी बिमायाले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस