ओली–प्रचण्ड वार्ता निष्कर्षविहिन, दुबै अध्यक्षको आआफ्नो अडान यथावत

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १२ : ०८
ओली–प्रचण्ड वार्ता निष्कर्षविहिन, दुबै अध्यक्षको आआफ्नो अडान यथावत

काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्षद्वय ओली र प्रचण्डबीचको वार्ता सकिएको छ  । 

आज सोमबार बालुवाटारमा भएको वार्ताले कुनै ठोस सहमति निकाल्न नसकेको नेकपा स्रोतले बताएको छ । आइतबारको बैठक सकारात्मक भएको र आज सोमबार निष्कर्ष आउने दाबी गरिए पनि कुनै सहमति हुन सकेन ।  दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए ।

नेकपा स्रोतका अनुसार जनैपूर्णिमाको शुभकामना साटासाटबाट सुरु भएको बैठकमा ओलीले सबै विवाद केन्द्रीय सचिवालयलबाट मिलाएर मात्रै स्थायी कमिटिमा जान प्रस्ताव गरेका थिए ।

तर अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए ।

 ‘स्थगित स्थायी समिति बैठक सुरु गरौँ र त्यहाँबाट विवादको छिनोफानो गरौँ । साथीहरुको भावना पनि त्यही छ । लामो समय स्थयी कमिटी स्थगित गर्दा कार्यकर्तामा सन्देश राम्रो जाँदैन’, ओलीसँगको वार्तामा प्रचण्डको प्रस्ताव थियो । तर, प्रचण्डको कुरा सुनेपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए । 

‘सचिवालयमा घनिभूत छलफल गरौँ । त्यसपछि मात्रै स्थायी समिति बैठक बोलाऔं’, ओलीको जवाफ थियो । 

बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए । नेताहरुबीच करिव डेढ घण्टा संवाद भएको थियो । 

प्रतिक्रिया दिनुहोस