फेरि होला लकडाउन ?

पत्रपत्रिकाबाट

सोमबार, १९ साउन २०७७, ०७ : ५०
फेरि होला लकडाउन ?

काठमाडाैँ । विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा विभिन्न रूपमा पुनः लकडाउन गर्न थालिएको छ । यससँगै १ सय २० दिन लकडाउन भोगेका देशवासीबीच फेरि लकडाउन हुने चर्चा सुरु भएको छ ।

साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि संक्रमण बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ । लकडाउन खुलेसँगै देशैभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ ।

सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको विषयमा सीसीएमसी सचिवालय र उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा छलफल भइरहेको छ । ‘केही दिनलाई परीक्षण दायरा बढाउने र नतिजाको आधारमा निर्णय गर्ने भन्ने कुरा भएको छ,’ सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले भने ।

काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेपछि साउन १५ मै गृह मन्त्रालयले बेलुकी ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश गर्ने नाकाबाट आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै उपत्यकाबाहेक जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण रूपमा बन्द गराउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरिसकेको छ ।

सीसीएमसीका एक उच्च अधिकारीका अनुसार आवश्यक पर्दा भविष्यमा पनि छोटो समयका लागि लकडाउन गर्न सकिनेबारे छलफल चलिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस