लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगै आईसीयूमा उपचार गराउने बिरामीको संख्या बृद्धि

पत्रपत्रिकाबाट

शुक्रबार, १६ साउन २०७७, ०८ : ०६
लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगै आईसीयूमा उपचार गराउने बिरामीको संख्या बृद्धि

काठमाडौं । कोभिड–१९ बाट संक्रमित भई आईसीयूमा भर्ना हुनेको संख्या बढ्न थालेको छ । केही दिनयता लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगै आईसीयूमा जानेको संख्यामा वृद्धि भएको हो ।

‘हाल करिब एक तिहाइ कोरोना संक्रमितमा लक्षण देखिराखिएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘केही दिनअघिसम्म ९९.७ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन, हाल त्यो अवस्थामा परिवर्तन भइरहेको छ । यो खतराको संकेत हो ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा एक जना, पाटन अस्पतालमा २ जना गरी उपत्यकामा ११ जना आईसीयूमा छन् । थप एक जना भेन्टिलेटरमा समेत छन् । यस्तै, धुलिखेल अस्पतालमा एक जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । देशभर २२ जना आईसीयूमा रहेको डा. अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस