नेटवर्किङ व्यवसायबाट सांसद पनि ठगिए

पत्रपत्रिकाबाट

शुक्रबार, १६ साउन २०७७, ०७ : ३९
नेटवर्किङ व्यवसायबाट सांसद पनि ठगिए

काठमाडौँ । नेटवर्किङबाट सांसदहरू पनि ठगिएको पाइएको छ । साथीभाइ र आफन्तमार्फत आफूहरू ठगिएको उनीहरूको भनाइ छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार गरेको बैठकमा सांसद सुजाता परियारले एक दशकअघि भारतीय मेडिकेयर कम्पनीबाट आफू ठगिएको सुनाइन् ।

‘जति धेरै सदस्य बनायो, त्यति फाइदा भने । फर्म पनि भरिदिए । आफ्नै मान्छेले ठगे,’ उनले भनिन् । ‘ठगिएको थाहा पाएपछि धेरै सर्वसाधारणको रुवाबासी भयो,’ उनले भनिन् ।अर्की सांसद सरिताकुमारी गिरीले भारतीय नेटवर्किङ कम्पनीले ठगेको सुनाइन् । ‘हामी सानो छँदै नेटवर्किङको बिगबिगी थियो । भारतबाट एमओएले १२ र १५ हजार लिएर टुथपेस्टलगायतका सामान दिन्थ्यो,’ उनले भनिन्, ‘हामी उपभोक्ता पनि भएकाले प्रत्यक्ष ठगीमा परेका छौं ।’

सांसद कृष्णकुमार श्रेष्ठले गोल्डक्वेस्टबाट ५० हजार रुपैयाँ ठगिएको सुनाए । ‘सुरुमा ५० हजार लगानी गरेपछि ठ्याकठ्याक पैसा आउँछ भने तर ठगिएँ,’ उनले भने । गोल्डक्वेस्टपछि युनिटीले प्रलोभन देखाएको उनले सुनाए । ‘केही वर्षअघि युनिटीले छिट्टै बोइङ खरिद गर्ने, विदेश भ्रमण गराउनेलगायत सपना देखाएको थियो ।

सञ्चालकले ठूल्ठूला कुरा गर्नुभयो,’ उनले भने, ‘सबै नेपाली जनतालाई ठग्दाठग्दै पछि युनिटी कानुनको दायरामा पर्‍यो ।’ अर्का सांसद गोपाल बमले युनिटी, हर्बोबाट आफू ठगिएको सुनाए । ‘विश्वास गरेको, नजिकैको मान्छेले मीठा कुरा गरेपछि थोरै लगानी गरें,’ उनले भने, ‘त्यसपश्चात् मान्छे र कम्पनी नै हराए । एक रुपैयाँ पनि पाइएन ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस