नेकपा विवाद : दुवै समुह आ–आफ्नो शक्ति परिक्षण तर्फ उन्मुख

पत्रपत्रिकाबाट

बुधबार, १४ साउन २०७७, ०८ : २४
नेकपा विवाद : दुवै समुह आ–आफ्नो शक्ति परिक्षण तर्फ उन्मुख

काठमाडौं । सहमति जुटाउने एक महिनादेखिको प्रयास असफल र अविश्वासमा बदलिएपछि सत्तारुढ दल नेकपामा औपचारिक रूपमा शक्ति–परीक्षण सुरु भएको छ ।

पार्टीको स्थायी कमिटी बैठक स्थगित वा सञ्चालनमा दुई समूहबीच विवाद भएको छ । र, सहमति नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुमत सदस्यले बैठक गरेका छन् । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहका नेताले बहिष्कार गरेका छन् । 

नियमित एजेन्डामा प्रवेश नगरी छलफल सकिए पनि ओलीको असहमतिबीच सम्पन्न स्थायी कमिटीको बैठकपछि नेकपाको शक्ति–संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । स्थायी कमिटी बैठक सुचारु गर्ने गरी छिट्टै नयाँ सहमति नभए अल्पमत–बहुमतको शक्ति–परीक्षणका लागि केन्द्रीय कमिटी र संसदीय दलतिर शक्ति–संघर्ष उन्मुख हुने ढोका खुलेको छ । यससँगै नेकपा नेताहरूले विभाजन हुन नदिन गम्भीरतासाथ होसियारी अपनाउनुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकल निर्णयमा मंगलबारको बैठक स्थगित गरेपछि असन्तुष्ट बनेको दाहाल–नेपाल समूहले बालुवाटारमै बैठक गरेका हुन् । बहुमत सदस्य बालुवाटारमा भेला गरेर प्रचण्ड–नेपाल समूहले ओली समूहमाथि दबाबको राजनीति बनाएको छ । साथै यो समूहले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाए बहुमतबाट ठोस निर्णय लिन सकिने सन्देश दिएको छ । यद्यपि ओली समूहले प्रचण्ड–नेपाल समूहको बैठकलाई मान्यता दिएको छैन । 

एक व्यक्ति स् एक जिम्मेवारीको नीति लागू गर्न प्रधानमन्त्री ओलीलाई एक पद छाड्न दबाब दिँदै आएको प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरूको बैठक सम्पन्न गरेर बैठक स्थगित गर्ने ओलीको कदमको आलोचना गरेको छ । मंगलबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सामाजिक सञ्जालमार्फत बैठक स्थगित भएको सूचना बाहिर ल्याएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस