प्रचण्डको ब्रिफिङ : हामी मिल्छौँ, उत्तेजित हुने काम कसैले नगरौं

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, १६ : ०७
प्रचण्डको ब्रिफिङ : हामी मिल्छौँ, उत्तेजित हुने काम कसैले नगरौं

काठमाडौं । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बस्यो ।

यद्यपी यसलाई स्थायी समिति बैठकको निरन्तरता भनिएको छैन । कार्यकारी अध्यक्ष प्रचण्डले पनि यसलाई विशेष भेला भन्नुभएको छ । आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई प्रचण्डले एकता कायम राख्ने बताउनुभएको छ । 

‘यो बैठकलाई स्थायी कमिटी बैठकको निरन्तरताको रूपमा नलिनुहोला, यो विशेष भेला हो । हामी मिल्छौँ, उत्तेजित हुने काम कसैले नगरौं,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

प्रचण्डका सहयोगीहरूले भने बालुवाटार भेलालाई स्थायी कमिटी बैठकको रूपमा प्रचार गरेका छन् । भेलामा ओलीपक्षीय नेताहरू भने उपस्थित छैनन् । प्रचण्डले ओलीसँग भएको कुराकानीबारे भेलामा ब्रिफिङ गरेका छन् । 

नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने मंगलवारका लागि तय भएको स्थायी कमिटी बैठक बिहानै स्थगित भएको बताउनुभएको छ । भेला सम्पन्नपछि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटर पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस