पुरुष र महिला दुवै विधामा तीन विभागीय क्लब सेमिफाइनलमा

विहीबार, १७ फागुन २०७४, २० : ०३
पुरुष र महिला दुवै विधामा तीन विभागीय क्लब सेमिफाइनलमा

काठमाडौं । चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तथा महिलाको सेमिफाइनल समीकरण पुरा भएको छ । पुरुषतर्फको क्वाटरफाइनलमा विभागीय टिम पुलिस, एपीएफ आर्मी र हेल्प नेपाल जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोटर््स क्लबलाई २५–११, २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, अर्को क्वाटरफाइनलमा एपीएफ क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–२३, १९–२५ र २५–२१ को सेटमा पराजित गर्न सफल भयो । पहिलो, दोस्रो र चौथो सेटमा एपीएफले जित हात पारे पनि तेस्रो सेट भने मणिमुकुन्दले जितेको थियो ।
पुरुषतर्फ कै अर्को क्वाटरफाइनलमा हेल्प नेपालले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१६, २५–१७, २१–२५ र २५–२२ को सेटमा पराजित गरेको छ । अर्को क्वाटरफाइनलमा आर्मीले नयाँबजार सामाजिक क्लबलाई २५–१०, २५–१६ र २५–९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको छ ।
महिलातर्फको खेलमा एपीएफ क्लबले जावलाखेल भलिबल टे«निङ सेन्टरलाई २५–६, २५–७ र २५–४ को सोझो सेटमा पराजित गरेको छ । एपीएफ क्लब यसअघि नै सेमिफाइनल पुगि सकेको थियो ।
पुरुष र महिलात दुवै विधाको सेमिफाइनल खेल शुक्रबार हुदै छन् । महिलातर्फ शिवम् न्यू डायमण्डले नेपाल पुलिस क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले आर्मीको सामना गर्नेछ ।
पुरुषतर्फको सेमिफाइनलमा पुलिसले हेल्प नेपालको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा एपीएफले आर्मीसँग फाइनल प्रवेशका लागि खेल्ने छ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन्  । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस