ठेला रिक्सा फिर्ता नगर्दा हत्या, चार जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १७ : ३३
ठेला रिक्सा फिर्ता नगर्दा हत्या, चार जना पक्राउ

चितवन । भाडामा लगेको ठेला रेक्सा फिर्ता नगर्दा भरतपुर महानगरपालिका–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको हत्या भएको छ ।

गत असार २३ गते भरतपुर–१० स्थित मैयाँदेवी कन्या कलेज नजिक झाडीमा  गुरुङको शव फेला परेको थियो । हत्याका आरोपित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । भाडाको रिक्सा फिर्ता नगर्दा नै गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रहरीले हत्याका आरोपित तनहुँ भानु नगरपालिका वडा नं ४ साल घर भएका हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं १० बस्ने वर्ष ३४ को कमल गन्धर्व, रौतहट गजुरा नगरपालिका वडा नं १ घर भई हाल  भरतपुर महानगरपालिका वडा नं १० बस्ने अमृत भन्ने अम्मरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका वडा नं ११ घर भई  भरतपुर महानगरपालिका वडा नं १० बस्ने वर्ष २४ का सागर ओली र भरतपुर महानगरपालिका वडा नं ८ गौरीगञ्ज बस्ने वर्ष ३१ का प्रकाश विकलाई  पक्राउ गरेको छ ।

घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रवक्ता थापाले जानकारी दिए । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । अभियुक्तहरु मध्ये एक जना बालक भएकाले उनको नाम खुलाइएको छैन । 

घटना यसरी भयो

कमल गन्धर्व भाडामा ठेला रिक्सा लिएर काम गर्दै आइरहेका थिए । गत असार ६ गतेका दिन राजकुमार गुरुङले गन्धर्वबाट भाडामा ठेला रिक्सा लिए । ठेला लगेपछि उनी सम्पर्कविहीन भए । भेटको क्रममा ठेला रिक्सा बेचेको भन्ने कुरा गुरुङले बताए । त्यसपछि कमल गन्धर्वलगायत एक समूहले उनीमाथि कुटपिट गर्छन । कुटपिटपछि गुरुङको मृत्यु हुन्छ । 

त्यसपछि गुरुङको शवलाई बोरामा बाँधी कोही कसैले नदेख्ने गरी भित्री सडकको प्रयोग गरी मैयाँदेवी कन्या कलेज अगाडिको झाडीमा फालिन्छ । फालिएको केही दिनपछि प्रहरीले शव फेला पारेको थियो । सोही दिनबाट प्रहरीको अनुसन्धान थालेको थियो । 

प्रतिक्रिया दिनुहोस