सञ्चालनको तयारीमा सौराहाका होटल

रासस

आइतबार, ११ साउन २०७७, ०९ : ०२
सञ्चालनको तयारीमा सौराहाका होटल

भरतपुर । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् ।

आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । ¥यालीमा १७ सहभागी थिए । सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गरेका थिए । कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए ।

‘अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका  छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ ।’ उनले व्यवसायी खुशी हुने अवस्था नरहे पनि होटल खोल्नुको विकल्प नभएको बताए ।  होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै आवश्यक सावधानीका उपायहरु समेत अपनाइने जानकारी उनले जानकारी दिए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्वास्थय चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए । 

उनले साइकलबाटै पर्यटकीय क्षेत्रहरुमा पुग्न सकिने स्थलको प्रचार गरी साइकलबाटै भ्रमण गर्ने सकिने वातावरण तयार पार्नुपर्नेमा जोड दिए । सौराहादेखि कसरासम्मको साइकलयात्रापश्चात अब छिट्टै नै सौराहादेखि लोथरसम्मको साइकलयात्राको कार्यक्रम रहेको छ ।

यस्तै क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले पछिल्लो समय साइकल चलाउनेको सङ्ख्या बढ्दै गइरहेको भन्दै साइकलमार्फत नै आन्तरिक पर्यटन प्रवद्र्धनमा लागिपरेको बताए । सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै होटल तथा पर्यटकिय गतिविधीठप्प छन् ।

प्रतिक्रिया दिनुहोस