भारतीयलाई प्रवेश नदिँदा सशस्त्रमाथि आक्रमण

रासस

शनिबार, १० साउन २०७७, २१ : २३
भारतीयलाई प्रवेश नदिँदा सशस्त्रमाथि आक्रमण

फाइल फोटो

काठमाडौं । सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।

भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते हुनुभएको छ । उहाँको दाहिने हातमा चोट लागेको छ ।

शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्रअन्तर्गत कोरैया गाउँका दुई महिला परोहा नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेका थिए । उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु हतियार हँसिया प्रहार गरेका थिए ।

हँसिया प्रहारबाट वरिष्ठ हवल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर्दिवासका प्रमुख डीआइजी कृष्णभक्त ब्रह्माचार्यले बताउनुभयो ।

नरकटिया नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट खटिएको सशस्त्र प्रहरीका १५ जनाको टोलीले ती महिलालाई प्रवेश गर्न दिएका थिएनन् । झडपको क्रममा भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुशवाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राति ८ बजे प्रहरी चौकी नरकटियामा बुझाएको हो ।

घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी ११ नं गणका प्रमुख एसपी रवीनराज कर्णजितको कमाण्डमा ५० सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राकेशकुमार यादवको कमाण्डमा ३५ जना नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

द्विपक्षीय छलफलपछि पक्राउ परेका भारतीय नागरिक कुशवाहालाई राति १० बजे भारतीय सशस्त्र सीमा बल ७१ नम्बर बटालियनका इन्स्पेक्टर अजय कुमारको टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीका एसपी कर्णजितले बताउनुभयो । शनिबार सशस्त्र प्रहरी प्रदेश नं २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यसमेतको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । हाल नरकटिया नाकाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।