समुदायमा कोरोना फैलिएको भन्दै राजविराजमा निषेधाज्ञा

पत्रपत्रिकाबाट

विहीबार, ०८ साउन २०७७, ०८ : ०६
समुदायमा कोरोना फैलिएको भन्दै राजविराजमा निषेधाज्ञा

राजविराज । स्थानीय प्रशासनले सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा बिहीबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार साँझ बसेको बैठकले अर्को सूचना नहुन्जेलसम्मका लागि राजविराज नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

नगरपालिकामा कोभिड(१९ समुदायमा फैलिएको भन्दै बुधबारबाटै राजविराज नगरपालिकाले नगरपालिका क्षेत्रभित्र पूर्ण लकडाउनको आहृवान गरेको थियो । संक्रमणलाई थप फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यदारा जारी निषेधाज्ञा पत्रमा अत्यावश्यक सेवाहरु बाहेक अनावश्यक आवतजावत र हिँडडुल गर्न बिहीबार बिहान ५ बजेदेखि अर्को आदेश नहुन्जेलसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभरी निषेधाज्ञा जारी गरिएको उल्लेख छ । आदेश उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा अवधीमा राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल,खाद्यान्‍न फलफूल तथा तरकारी,अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा,मालसामान ओसारपसार गर्न तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानी यातायात,सरकारी छापाखाना,सञ्चार सेवा,बैंकिङ सेवा,आन्तरिक सुरक्षा कार्य,खानेपानी सञ्चालन तथा वितरण कार्य,पेट्रोलियम पदार्थको ढुवानी तथा भण्डारण र वितरण,फोहोर मैला संकलन तथा ढुवानी , विद्युतीय सेवा,कृषिजन्य कार्य तथा कृषि पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधनसहितका अत्यावश्यक सेवा बाहेक अन्य सेवा र स्थलहरुमा अनावश्यक आवतजावत र हिँडडुल गर्न रोक लगाएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस