गाडी त गुडे तर रित्तै

पत्रपत्रिकाबाट

विहीबार, ०८ साउन २०७७, ०७ : ५४
गाडी त गुडे तर रित्तै

फाइल तस्विर

काठमाडौं  । रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए।  तीन–चार जना मात्रै बोकेर हिँड्ने गरेको चालक तामाङले सुनाए ।  

चार महिना लामो लकडाउन हटेको दिन तामाङजस्तै धेरै चालक सडकमा यात्रुको पर्खाइमा थिए।  स्वयम्भू–सुन्धारा माइक्रो चलाउने विष्णुलाल श्रेष्ठले चार महिनापछि पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए ।  चार यात्रु लिएर आएका उनको गाडी फर्किने बेला खाली थियो।  यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको उनले सुनाए । 

‘आज (बुधबार) देखि गाडी चलाउन थालेको हुँ’, उनले भने, ‘यात्रु छैनन्।  एक सिट खाली गरेर राख्नुपर्छ।  तेल खर्च उठाएर खाना खान पुर्‍याउन मुस्किल छ । ’

सरकारले सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सीमित यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ।  एउटा सिट खाली राखेर यात्रु चढाउनुपर्छ । राजधानीका अधिकांश ठाउँमा यो नियम लागू गरेरै गाडी चलाएको देखियो ।  तर, सार्वजनिक सवारी भने कमै चलेका थिए । 

सुन्धारामा खटिएका ट्राफिक प्रहरी बलदेव भट्टले सार्वजनिक सवारीको चाप सुरु भइनसकेको बताए ।  ‘सधैंजस्तो सार्वजनिक सवारीको चाप बढेको छैन’, उनले भने, ‘सधैं हामीलाई सवारी व्यवस्थापन गर्न मुस्किल पथ्र्यो तर अहिले त्यस्तो छैन। ’ सवारी चालक गाउँतिरै भएकाले पनि सबै सवारी नचलेको हुन सक्ने उनले बताए । अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस