मनसुन कमजोर बन्दै : जोखिम टरिसकेको छैन

रासस

बुधबार, ०७ साउन २०७७, २० : १८
मनसुन कमजोर बन्दै : जोखिम टरिसकेको छैन

फाइल फोटो

काठमाडौं । मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ । 

अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । साउन ४ र ५ गते जसरी लगातार वर्षा भने नहुने तर केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उहाँले बताउनुभयो । 

“मनसुन कमजोर छ, तर जोखिम टरिसकेको छैन, जमिन गलिसकेकाले सामान्य वर्षाले पनि असर गर्नसक्छ, बाढीको बहाव धेरै नघटेकाले अझै सचेत हुनुपर्छ”, कँडेलले रासससँग भन्नुभयो । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बाग्मती र गण्डकीका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । 

कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउनसक्ने भएकाले सचेत रहन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस