आज पुष्पलाल स्मृति दिवश

को हुन् पुष्पलाल श्रेष्ठ ? उनको राजनीतिक जीवनीयात्रा बारे एक चर्चा

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, ०८ : ३४
को हुन् पुष्पलाल श्रेष्ठ ? उनको राजनीतिक जीवनीयात्रा बारे एक चर्चा

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको आज ४२ औं स्मृति दिवस । दिवशको अवसर पारेर आज देश भरि उनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष कोरोना संक्रमणका कारण कुनै कार्यक्रम आयोजना नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा भने अनौपचारिक कार्यक्रम राखिएको छ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे ।

पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा थियो, पछि छोराका कारणले बुबाको जागिर खोसिएको थियो । आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन पनि गरेका थिए । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् ।

उनले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।

पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए ।उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । पछिल्लो पटक २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिली पुनः अहिले त्यही नेकपा पार्टी बनेको छ ।

घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथाशक्य परिश्रम गरी नेपालीभाषामा उल्था गरी नेपालको सम्मान राखेको छु । यसलाई नेपाली माक्र्सवादीले माक्र्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अर्थ्याएका छन् ।

दाजु गङ्गालको हत्यापश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गरेका थिए । त्यतिखेर उनी १५ वर्षका किशोर थिए । निरङ्कुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै थिएनन्, इतिहास, समाजशास्त्र, मानवशास्त्रका विषयमा समेत ज्ञान राख्थे ।

उनी २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औचित्य पुष्टि गर्न अहोरात्र लागेका थिए।  प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिष्ट र कांग्रेस मिल्नु पर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रुपमा स्मरण गरिन्छ । उनकै विचार अनुसार कम्युनिष्ट र कांग्रेस मिलेपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएको हो । 

प्रतिक्रिया दिनुहोस