नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, दुईतर्फी सवारीसाधन अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, ०७ : ५६
नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो,  दुईतर्फी सवारीसाधन अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईन्जिनियर कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति  करिब ९ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो साढे ४ बजे एकतर्फी खुलाइएको थियो ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा आफैं अड्किएका थिए । सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी उनीहरु राति फकिएका थिए। राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।

प्रतिक्रिया दिनुहोस