सरकारमा सहभागिताबारे फोरमसँग लम्बियो छलफल , सहमति भोलि मात्र

बुधबार, १६ फागुन २०७४, २० : ५०
सरकारमा सहभागिताबारे फोरमसँग  लम्बियो छलफल , सहमति भोलि मात्र

काठमाडौं । सत्तारुढ एमाले-माओवादी केन्द्र र संघीय समाजवादी फोरमसँग सहमति गर्ने प्रयास बुधबार पनि निष्कर्षमा पुग्न सकेन ।
सिंहदरवारमा बुधबार साँझ भएको वार्तामा सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र र फोरम नेपालबीच सहमति हुन सकेन ।
आजको बैठक निर्णायक हुने बताइए पनि नेताहरुले समय अपुग भएको कारण भोलि फेरि बैठक बसेर सहमतिको प्रयासलाई जारी राख्ने बताएका छन् ।
बैठक बारे जानकारी दिँदै एमाले नेता प्रदीप ज्ञवालीले आजको बैठकमा संविधान संशोधन र सरकारमा सहभागिताको मोडालिटीबारे छलफल भएको बताए ।
'वार्ता सकारात्मक भएको छ। केही तयारी गर्न अझै बाँकी देखियो', ज्ञवालीले भने ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान नौ बजे फेरि छलफलमा बोलाएको र छलफलपछि सहमतिमा पुग्ने उनले बताए ।
संघीय फोरमलाई सरकारमा ल्याउन पछिल्लो समय प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले छलफल तीव्र पारेका थिए। फोरम अध्यक्ष यादवले सरकारमा सहभागी हुन संविधान संशोधनको मुद्दा सम्बोधनको ग्यारेन्टी हुनुपर्ने अडान राख्दै आएका छन् ।
यसअघि संविधान संशोधनका एजेन्डा सम्बोधन गर्न एमाले र संघीय समाजवादी फोरमबीच सहमतिको पाँचबुँदे प्रारम्भिक खाका तयार भएको थियो ।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस