सडक सञ्जालमा अब्बल बन्दै भरतपुर महानगर

सडक सञ्जालमा देखिने गरी काम गरिरहेका छौँ : भरतपुर महानगर प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १२ : ५१
सडक सञ्जालमा देखिने गरी काम गरिरहेका छौँ : भरतपुर महानगर प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका भित्रका सडक सञ्जाललाई बेवस्थित बनाउँदै लगिएको बताउनुभएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–१५ मा रहेको जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको सडकको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले सो कुरा बताउनुभएको हो । 

समपूरक कोषबाट सञ्चालित एक करोड ५५ लाख रुपैयाँको लागतमा निर्मित १८ सय मिटर लामो सडक निर्माण सम्पन्न गरिएको भन्दै दाहालले महानगरपालिका भित्रका सडक सञ्जालहरुको प्रगति देखिनेगरि काम अगाडि बढाइएको समेत बताउनुभयो । भरतपुर महानगरपालिकाभित्र नगरवासीको अधिकांश माग सडक विस्तार तथा कालोपत्रे रहने गरेको बताउँदै उहाँले जनताको माग र आवश्यकताअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । भरतपुरमा आफू जनप्रतिनिधिको रुपमा प्रवेश गरेसँगै सडकहरुको बर्गीकरण र मापदण्ड बनाएर योजनाबद्ध ढंगले काम अगाडि बढाएको बताउँदै महानगर प्रमुख दाहालले महानगरपालिका भित्र ६ मिटरभन्दा कम चौडाईको बाटो नरहेको समेत बताउनुभयो । 

जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको बाटोमा सात मिटर कालोपत्रे गरिएको उल्लेख गर्दै महानगर प्रमुख दाहालले सो सडक १६ मिटर चौडाईको भएको बताउनुभयो । संघ, प्रदेश, सडक बोर्ड तथा भरतपुर महानगरपालिकाको लगानीमा महानगरपालिकाभित्र रिङ रोड, लिङ्क रोड तथा अन्य रणनीतिक महत्वका सडकहरु निर्माण भैरहेको बताउँदै अबको एक वर्षभित्रमा ती आयोजनाहरु सम्पन्न भइसक्दा भरतपुरले सडक सञ्जालमा एउटा फड्को मार्ने पनि बताउनुभयो । 

चालु आर्थिक वर्ष २०७६/७७ मा भरतपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा ६० किलोमिटर सडक कालोपत्रे गरेको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले बताउनुभयो । त्यस्तै, २० किलोमिटर सडक मर्मत, १० किलोमिटर सडक उच्चस्तरीय ग्राबेल र ४० किलोमिटर सडकमा ग्राबेल सम्पन्न गरिएको समेत इन्जिनीयर लामिछानेले जानकारी दिनुभयो । सडक उद्घाटन समारोहमा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, संविधान सभा सदस्य सीता गिरी ओलीलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस