कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम नचाल्दा कतिपय देश उच्च जोखिममा : डब्लुएचओ

एजेन्सी

मंगलबार, ३० असार २०७७, १० : १९
कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम नचाल्दा कतिपय देश उच्च जोखिममा : डब्लुएचओ

एजेन्सी । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले विभिन्न देशका सरकारहरु कोरोना भाइरसको संक्रमण रोक्न प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन् । यसलाई नियन्त्रण गर्न थप प्रभावकारी भुमिका नअपनाउने हो भने यसले  थप खराब र भयावह बन्दै जाने  चेतावनी समेत दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले ‘धेरै देशहरु खराब दिशामा गइरहेकाले  संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएकाले देशहरुमा संक्रमण तीव्र गतिमा फैलिरहेको बताए । संगठनका अनुसार अहिले विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु खडा गरिएको आरोप लगाउन थालेका छन् । उनले भन्न थालेका छन्, ‘परीक्षण गरेर संक्रमण बढी देखाइएको छ । बढी परीक्षण गरेपछि संक्रमण देखिन्छ नै ।’

तर स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताएका छन् । ट्रम्प र स्वास्थ्य विज्ञबिचको तनाव उत्कर्षमा पुग्दा समस्या पनि थप बढेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै त्यहाँ एक लाख ३५ हजार पाँच सय भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८४ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ । जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा। टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए । नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले बताए ।

उनले भनेका छन्, ‘कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन् ।’ भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए । उनले चेतावनी दिँदै भने, ‘निकट भविष्यमा विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना देखिँदैन ।’
 

प्रतिक्रिया दिनुहोस