राजेश हमालको गीतमा नाच्थिन् दीपा, अहिले अवस्था फेरियो

पत्रपत्रिकाबाट

मंगलबार, ३० असार २०७७, ०७ : ५८
राजेश हमालको गीतमा नाच्थिन् दीपा, अहिले अवस्था फेरियो

गोली सिसाको
ए मेरो माया किन रिसाको.....
काठमाडौं । ‘गाउँले’ फिल्मको गीत हो यो । त्यसताका नेपाली फिल्म क्षेत्रमा राजेश हमालको रजगज थियो । उनकै लागि फिल्म बन्थे, एकै दिन ३–४ वटासम्म फिल्मको सुटिङमा समय दिन्थे । यस गीतमा उनीसँग नाच्ने दीपाश्री निरौलाचाहिँ संघर्षरत थिइन्, फिल्म पाउनै मुस्किल पर्थ्यो ।

दुई दशक बित्यो । समयसँगै राजेश र दीपाश्रीको व्यस्तता र सफलताको रफ्तार बदलियो । राजेश तीन वर्षयता फिल्म अभिनयबाट पूर्णरूपमा टाढा छन्, त्यसअगाडि पनि उनी अभिनीत फिल्मले सफलता हासिल गरेका थिएनन् । दीपा भने कलाकारबाट निर्देशक बनिन् । उनले निर्देशन गरेको ‘छक्का–पन्जा’ सिरिजका तीन फिल्म ब्लकबस्टर भए । यी फिल्मको निर्माण समूहमा पनि उनी संलग्न थिइन् ।

हिजो जसरी पोस्टरमा राजेशको फोटो राख्दा फिल्म चल्छ भनिन्थ्यो, आज उसैगरी दीपा र दीपकराज गिरीको फिल्ममा दर्शकको भीड लाग्छ । यतिबेला राजेश र दीपा चर्चा (विवाद) को घेरामा छन् । त्यसको कारण हो, दीपाले राजेशलाई भन्ने गरिएको ‘महानायक’ उपाधिमाथि प्रश्न उठाउनु । प्राइम टेलिभिजनसँगको कुराकानीमा उनले भनेकी छन्, ‘राजेश दाइ मात्र महानायक हुनुभयो, निर्देशक र निर्माता महानायक भएनन् ।

फिल्म बन्न थालेको ५०–५२ वर्ष भइसक्दा पनि नेपाली फिल्म क्षेत्र लिन्ठिङ–लिन्ठिङ छ । फिल्म पायो भने खेलिहाल्ने ?’ राजेशले एउटै गीत वा दृश्यमा मात्र पनि खेलिदिने भएकाले महानायकको साख नजोगिएको, फिल्म क्षेत्रलाई हाँक्न कुनै भूमिका नखेलेको, बलिउडमा अमिताभ बच्चनले झैं काम नगरेको उनको आरोप थियो । कुराकानीका क्रममा दीपा यतिमै रोकिन्नन्, बरु हाँस्दै प्रश्न गर्छिन्, ‘महानायक अहिले पनि हुनुहुन्छ र ?’

दीपाको भनाइको सारमा खास समस्या देखिन्न तर प्रस्तुति र हाउभाउले भने राजेशलाई ‘होच्याउन’ वा हल्का रूपमा लिन चाहेको छनक मिल्छ । कान्तिपुर दैनिकमा राजेश हमाल ‘महानायक’ नै हुन् ? शीर्षकमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस