अवैध मृगौला प्रत्यारोपन प्रकरण

कलेज अफ मेडिकल साईन्सेजको दाबी : ‘मृगौला प्रत्यारोपनमा कुनै पनि अवैधानिक र गैरकानुनी काम गरेका छैनौं’

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, २२ : ०३
कलेज अफ मेडिकल साईन्सेजको दाबी : ‘मृगौला प्रत्यारोपनमा कुनै पनि अवैधानिक र गैरकानुनी काम गरेका छैनौं’

चितवन । अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोप लागेका चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेजले अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधी कलेजका तर्फबाट नभएको दाबी गरेको छ ।

कलेजले आईतबार सांझ एक विज्ञप्ती जारी गर्दैे ‘कुनै पनि काम कलेजको आफ्नो स्वार्थका लागि अवैधानिक र गैरकानुनी काम हाम्रो तर्फबाट नभएको दावी गर्दै भनेको छ–‘ हामीले गरको काम स्वार्थका लागि नभएकोले कसैबाट खण्डित हुने छैन भन्ने विश्वास लिएका छौं ।’

विज्ञप्तीमा अगाडी भनिएको छ–‘मानव अंग प्रत्यारोपण जस्तो पवित्र काममा सेवा प्रदान गर्ने, जीवन बचाउने स्वास्थ्य संस्था र बिषेशज्ञ चिकित्सकलाई स्वतन्त्रतापूर्वक र झन्झटरहित ढंगले काम गर्ने गराउने वातावरण सिर्जना गर्ने कानुनी व्यवस्था गर्दा मात्रैं देशमा मानव अंग प्रत्यारोपणको दर बढ्ने र पीडितहरुले नयाँ जीवन पाउने ग्यारेन्टी हुन्छ भन्ने आभाष हामीलाई भएको छ ।’ कलेजले यसतर्फ सम्बन्धित निकायको ध्यान जाने पनि विश्वास व्यक्त गरेको छ ।

 मिर्गौला प्रत्यारोपण जस्तो काममा विद्यमान कानुनी जटिलताहरू फुकाउन सकेको अवस्थामा मात्रैं सुस्त गतिमा रहेको प्रत्यारोपणको अनुपात बढ्ने विश्वास कलेजे लिएको जनाएको छ । कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘मानव अंग प्रत्यारोपण सम्बन्धी देशको प्रचलित ऐन र कानुनको आधारमा गरिएको प्रत्यारोपण र त्यस माथि उठेका विभिन्न प्रश्नहरुमा थप अनुसन्धानका लागि यस स्वास्थ्य संस्थाका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ सरकारको सम्बन्धित निकायको अनुसन्धान यथासिघ्र सत्य तथ्यसहित सम्पन्न हुने कुरामा पूर्ण विश्वस्त छौं ।

चितवनमा रहेको मेडिकल कलेजले नेपाल सरकारबाट वि.स. २०६९ सालमा पहिलोपटक राजधानी काठमाण्डौं बाहिर मृगौला प्रत्यारोपण सम्बन्धि स्वीकृती पाएको थियो । त्यस पछि हाल सम्म चार जनाको मृगौला पीडित बिरामीको सफल प्रत्यारोपण गरिसकेको दाबी गरेको छ । २०७२ बैंशाख ११ र १२ गते दुई जनाको र २०७६ जेठ २७ गते र सोही बर्षको माघ ६ गते थप दुई जना गरेर  हालसम्म जम्मा चार जना मृगौला पीडित बिरामीहरुलाई नयाँ जीवन दिन यस कलेज सफल भएको जनाएको छ ।

स्वास्थ्य सेवा विभागबाट यस शिक्षण अस्पतालले मानव अङ्ग प्रत्यारोपण सम्बन्धि अनुमति पत्र प्राप्त गरि मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ र मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को अधिनमा रहि मानव अङ्ग प्रत्यारोपण निर्देशिकाको निर्देशन अनुसारको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कानुनी सल्लाहकार, अस्पतालका प्रमुख सञ्चालन अधिकृत र अस्पतालका चिकित्सक प्रतिनिधिसहितको ‘प्रत्यारोपण स्वीकृति समिति’ गठन गरि कार्य गर्दै आएको जनाएको छ ।

कलेजले उक्त समितिको निर्देशन अन्तर्गत रहेर अङ्ग ग्रहण कर्ता र अङ्गदानकर्ताको सम्बन्धित स्थानीय निकायबाट नाता प्रमाणित र मन्जुरीनामा, जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणित गरि साथै सरकारको प्रचलित कानुनको अनुसुचिमा उल्लेख गरिए अनुसारको फारमहरू भराई सोको आधारमा तथा अङ्ग प्रत्यारोपण समितिको विभिन्न चरणको अन्तरवार्ता पछिको स्वीकृतीअनुसारसम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरि सफलतापूर्वक प्रत्यारोपण गरिएको दाबी गरिएको छ ।

कलेजले शनिबार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको भन्दैं यस कलेजका जिम्मेवार चिकित्सिकहरू, प्रमुख सञ्चालन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्तासमेतलाई मानव बेचविखन अनुसन्धान ब्यूरो काठमाण्डौंले सोधपुछ लागि उपस्थित गराई थप अनुसन्धान गरिरहेकोले यसमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

अंग प्रत्यारोपन गर्ने कलेजले भनेको छ–‘बाहिर अङ्गग्रहण कर्ताको परिवार वा दाताका बीचमा हुने सहमती तथा तत् सम्बन्धी कामका लागि राज्यका विभिन्न निकायबाट बनाइने कागजात र सरकारी निकायको कामप्रतिको विश्वासकै आधारमा कलेजले प्रत्यारोपण सम्बन्धी काम गर्दै आएको विगतको अनुभव छ । त्यसै आधारले हामीले काम गरेका छौं । अवैध मृगौला प्रत्यारोपन गरेको आरोपमा शनिबार यस मेडिकल कलेजका ३ जना चिकित्सकलाई प्रहरीले थप अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस