नेपालमा बाढी र पहिरोबाट ५२ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १३ : ३७
नेपालमा बाढी र पहिरोबाट ५२ जनाको मृत्यु

फाइल फोटो

काठमाडौँ । मनसुन सुरु भएपछि हालसम्मको एक महिनामा नेपालमा बाढी र पहिरोबाट ५२ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा मनसुन सुरु भएको करिब एक महिनाभित्र शनिवार बिहानसम्म बाढी र पहिरोबाट ५२ जनाको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीहरूले जनाएका छन् । देशका कतिपय स्थानमा गएका पहिरोमा परेर बेपत्ता हुनेहरूको सङ्ख्या बढिरहेकाले यो सङ्ख्या वृद्धि हुनसक्ने अधिकारीहरूको भनाइ छ ।

यो अवधिमा पहिरोमा परेर सबैभन्दा धेरै ५० जनाको ज्यान गएको छ भने बाढीमा परेर दुई जनाको ज्यान गएको छ । मृतकहरूमा पुरुषको सङ्ख्या २९ रहेको छ भने महिलाको १८ रहेको छ। पाँच जना मृतक पुरुष वा महिला को थिए भन्ने नखुलेको बताइएको छ । बाढी र पहिरोमा परेर हालसम्म ३२ जना बेपत्ता भएका छन् भने घाइतेको सङ्ख्या ५४ रहेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा गत जेठ ३१ गते मनसुन सुरु भएयता शनिवार बिहानसम्ममा बाढी र पहिरोका १ सय ५८ वटा घटनाको जानकारी हुन आएको छ । ती घटनाबाट २ सय ३६ परिवार प्रभावित भएका छन् ।

केन्द्रका उपसचिव मुरारी वस्तीले देशभरिका नदीहरूमा अहिले पानीको सतह बढिरहेको र विभिन्न स्थानमा थप पहिरो गएको जानकारी आएको बताए । उनका अनुसार देशका प्रमुख राजमार्गहरूमा पनि बाढी र पहिरोका कारण अवरोधहरू भएका विवरण आएका छन् । उनले भने, "हामीले पानीको सतह बढेको र पहिरोको जोखिम क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरू सहित स्थानीय सरकारका प्रमुखहरूलाई पनि सतर्क रहन भनेका छौँ। उहाँहरू पनि सतर्क अवस्थामा हुनुहुन्छ ।"

प्रतिक्रिया दिनुहोस