कुमाताको दोश्रो संस्करण बजारमा

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, ११ : ३१
कुमाताको दोश्रो संस्करण बजारमा

चितवन । महिलाको यौन मनोविज्ञानमा आधारित पत्रकार वसन्त पराजुलीको कुमाता कथासंङग्रहको दोश्रो संस्करण बजारमा आएको छ । गत फागुन २६ गते विमोचन भएको कुमाता कथासंग्रहको असारमा दोश्रो संस्करण छापिएको हो । 

सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भँुडिपुराण प्रकाशन प्रालीले प्रकाशन गरेको हो । ‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुमा केन्द्रित छन् । कथाहरुले नेपाली समाजलाई  जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी हुदा छिट्टै दोश्रो संस्करण छाप्नु परेको प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । 

गरिबी, बैदेशिक रोजगारी , प्रेम,विश्वास ,यौन , धोका ,जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको साहित्यकार तथा समालोचक डा. एकनारायण पौडेलले बताए । 

“‘कुमाता’ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो । यो कुमाताको कथा होइन, माताको कथा हो । यसमा नारीसमस्याका अतिरिक्त समसामयिक विविध विषयक्षेत्रका समस्या उजागर गरिएको छ”, डा. पौडेलले भने,  “कथाकार पत्रकार पनि भएका नाताले यसमा पत्रकारिताक्षेत्रका र त्यसमा पनि इमान्दार पत्रकारका समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर सार्वनिक गरिएको छ । द्वन्द्वमा सहभागी माओवादी कार्यकर्ताको जीवनचर्या, निकुञ्जक्षेत्रवरपरका सोझासाझा गाउँलेहरुले भोग्नपरेका समस्या, दलितसमस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि विविध विषय समेटिएका कुमाताका कथा विषयका हिसाबले रोचक छन् ।”

लेखक पराजुली भने कथासंग्रह यति छिट्टै दोश्रो संस्करण आउने अवस्था आउनुमा पाठकहरुले आफूप्रति अपार माया र स्नेह दिनुभएको प्रतिकृया दिए । कथामा समेटिएका विषयबस्तुहरुले पाठकको मन छोएकाले पनि यति छिटो दोश्रो संस्करण आउने अवस्था भएको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस