आजदेखि भारी वर्षा : सरकार ‘हाई अलर्ट’मा, जोखिम क्षेत्रमा नबस्न अनुरोध

रासस

विहीबार, २५ असार २०७७, १९ : ५६
आजदेखि भारी वर्षा : सरकार ‘हाई अलर्ट’मा, जोखिम क्षेत्रमा नबस्न अनुरोध

फाइल तस्विर

–नारायण ढुङ्गाना 

काठमाडौं । मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा (हाई अलर्टमा) रहेको छ । 

राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ । आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ । गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ । 

विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिइएको बताउनुभएको छ ।  

कोभिड–१९ बाट उत्पन्न सङ्कटमा मुलुक रहेका बेला पुनः विपद्जन्य सङ्कट उत्पन्न भएकाले त्यसलाई सामना गर्न र जनधनको सुरक्षा गर्नु अहिले प्रमुख चुनौती खडा भएको उहाँको भनाइ थियो । 

मन्त्री थापाले मुलुकभरका सबै निकायलाई हाई अलर्टमा रहनसमेत निर्देशन दिनुभएको छ । उहाँले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनेगरी तयारीमा रहनसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । “विपद्मा कमभन्दा कम क्षति होस्, जनताको जीउधनको क्षति रोक्न सकौँ, हामी सबै त्यसमा लाग्नु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले आगामी चार दिन अझै धेरै वर्षा हुने अनुमान गरिएकाले थप सचेत हुन नदी किनार आसपासका क्षेत्रका बासिन्दासँग अनुरोध गर्नुभयो । 

गृहसचिव महेश्वर न्यौपानेले विपद्बाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिनुभयो । 

मौसमविद्का अनुसार आजदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुनेछ । प्रदेश नं १, २ बागमती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो चारदिन कष्ट सहेरै पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलार्इ अपिल गर्नुभएको छ ।

विपद्को पुर्वानुमान गरिएको पहिलो दिन आज बिहान सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ । अन्य जिल्ल्लमा समेत बाढी, पहिरोका घटना भएका छन् । पानीको बहाव बढ्दो छ । वरिष्ठ मौसमविद् सुमन रेग्मीका अनुसार मनसुन सक्रिय भएर ठाउँठाउमा अहिले मध्यम पानी परिरहेको छ । अझै बढी वर्षा गराउने न्यूनचापीय रेखा भारतको विहार र उत्तरप्रदेशमा रहेकाले त्यो नेपालतर्फ आइरहेको रेग्मीले बताउनुभयो । गएराति नेपालको पूर्व तराई क्षेत्रमा न्यूनचापीय रेखा प्रवेश गर्नेछ । त्यसैले रातिबाट थप वर्षा हुनेछ । यसरी आगामी तीन दिन भारी वर्षा हुने उहाँले बताउनुभयो । 

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विक्रम श्रेष्ठले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा १४३ दशमलव ४ मिलिमिटर पानी परेकाले बाढी र पहिरो आएको बताउनुभयो । “कुनै ठाउँमा १०० मिलिमिटर पानी पर्नु भनेको पहिरोको उच्च जोखिम हुनु हो, त्यहाँ बढी पानी परेको थियो”, उहाँले भन्नुभयो, “अन्य क्षेत्रमा रातिदेखि पानी पर्ने भएकाले पहिरोको थप जोखिम छ ।” उहाँले यसअघि नै जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम हुने बताउनुभायो । यो बीचमा ३० हजारभन्दा बढी मानिसहरुमा सतर्कताका लागि मोबाइल सन्देश पठाइसकेको बताउनुभयो ।

खानी तथा भूगर्भविभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले नेपालमा भौगोलिक विविधता रहेकाले एक ठाउँको अध्ययनले अर्काे ठाउँमा काम गर्ननसक्ने बताउनुभयो । उहाँका अनुसार हिमालय रिजनमा नेपाल पर्ने भएकाले पहिरोको जोखिममा मुलुक रहेको बताउनुभयो । मुख्यगरी चुरे क्षेत्र र महाभारत क्षेत्रमा बढी पहिरो जाने बाँस्कोटाको भनाइ छ ।

आजको आकस्मिक बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले अहिलेसम्म भएगरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यो पकट आएको ठूला घटना भेलपहिरो भएकाले यसरी विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ ।