काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु

एजेन्सी

बुधबार, १६ फागुन २०७४, १३ : ३६
काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको समाचार छ । उक्त सम्मेलनको शीर्षक शान्ति र सुरक्षा सहयोगका लागि काबुल प्रक्रिया दिइएको छ । सो सम्मेलनमा विश्वका २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।

काबुलबाट प्राप्त समाचारमा यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जनाइएको छ । विभिन्न देशका नेताहरु यहाँ रहेकोले सुरक्षा व्यवस्था कडा बनाइएको समाचारमा उल्लेख छ । उक्त सम्मेलनमा विशेषगरी अशान्त र युद्धका कारण आक्रान्त रहेको अफगानिस्तानमा शान्ति स्थापना, यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोगका बारेमा कुराकानी हुने बताइएको छ ।

उक्त सम्मेलनमा अफगानिस्तानलाई सहयोग गर्दै आएका दाताराष्ट्र र संगठनहरु पनि सहभागी रहेका छन् । अफगानिस्तानमा पछिल्लो समयमा भएको यो दोस्रो पटकको सम्मेलन हो । यहाँ सन् २०१७ को जनवरीमा पनि यस्तै सम्मेलन भएको थियो । जसले यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोग जुटाएको बताइएको थियो ।

अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दिन रब्बानीले उक्त सम्मेलनको उद्घाटनगर्र्दै अफगास्तिानमा शान्ति र सुरक्षाका लागि सघाउन विश्व समुदायलाई आग्रह गर्नुभयो । उहाँले अफगानिस्तानमा शान्ति र सुरक्षा स्थापना हुन सकेमा यसले यस क्षेत्रलाई मात्र नभएर विश्वलाई नै सघाउन पुग्ने धारणा पनि सो अवसरमा राख्नुभएको थियो ।

अफगानिस्तानमा गएको करिब दुई दशकदेखि अमेरिकी सहयोगको सरकार छ भने तालिबानले हिंसात्मक युद्ध गर्दै आएका छन् । जसका कारण यहाँको सामाजिक अवस्था, अर्थतन्त्र तथा नागरिकको साधारण जीवनशैलीमा पनि नराम्रो प्रभाव पार्दै आएको छ ।
तालिबानको आक्रमणका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने सुरक्षा कारबाहीमा उनीहरु पनि प्रायः दैनिकजसो नै मारिने गरेका छन् ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस