अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो

एजेन्सी

बुधबार, २४ असार २०७७, १५ : ०७
अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो

वासिङ्टन डिसी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । 

अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । 

संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए । 

उनले विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना गरे । 

राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि लगाएका थिए ।

उनको आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लुएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए । 

डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारेमा अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले पुष्टि गरेका छन् ।

बाहिरिने सम्बन्धी पत्र अमेरिकी अधिकारीहरुले सोमबार नै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको पनि समाचारमा जनाइएको छ । 

अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस बारेमा जानकारी दिएका थिए । (रासस/एएनआई) 

प्रतिक्रिया दिनुहोस