कोरोनालाई 'मामुली फ्लु' भन्दै मास्क नलगाउने ब्रजिलका राष्ट्रपति कोरोनाबाट संक्रमित

एजेन्सी

बुधबार, २४ असार २०७७, १३ : ४३
कोरोनालाई 'मामुली फ्लु' भन्दै मास्क नलगाउने ब्रजिलका राष्ट्रपति कोरोनाबाट संक्रमित

बीबीसी । ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो।

बोल्सोनारुले पटकपटक 'मामुली फ्लु' भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उनले बताउँदै आएका थिए।

के भने बोल्सोनारुले?
मङ्गलवार टिभी अन्तर्वार्तामा बोल्दै उनले ज्वरो कम भइरहेको र आफूले ठीकै महसुस गरिरहेको बताए । आइतवारदेखि ज्वरो र खोकीसहित बिमारी महसुस गरेको उनले बताए।

सोमवार थप असहज भएपछि कोरोनाभाइरसको परीक्षण गरिएको उनले बताए। ६५ वर्षीय बोल्सोनारु उमेरका कारण जोखिम समूहमा छन्।

उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अघि सारेका औलोविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन तथा एन्टीबायोटिक एजिथ्रोमाइसिन लिइरहेको बताएका छन्। दुवै औषधिले कोरोनाभाइरसविरुद्ध काम गर्छ भन्ने प्रमाण छैन।

अब राष्ट्रपति बोल्सोनारुको सम्पर्कमा आएका मानिसहरूको पनि परीक्षण गरिनेछ। यसअघि पनि तीनचोटी बोल्सोनारुको परीक्षण गरिएको थियो। त्यतिखेर उनमा सङ्क्रमण देखिएको थिएन।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बोल्सोनारुलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। डब्लुएचओका कार्यकारी निर्देशक डा. माइक र्‍यानले भने, "मलाई लाग्छ यसको सन्देश भनेको हामी सबैजना कोरोनाभाइरसको सङ्क्रमणको जोखिममा छौँ भन्ने हो।"

के भनेका थिए बोल्सोनारुले?
एप्रिल महिनामा बोल्सोनारुले आफू सङ्क्रमित भइहालेमा पनि 'चिन्ता नहुने किनकि त्यसबाट आफूले कुनै असहजता महसुस नगर्ने केवल सामान्य रुघाजस्तो हुने' बताएका थिए।

त्यतिखेर कोभिड १९ का कारण ३,००० को ज्यान गएको र ४०,००० सङ्क्रमित भएका थिए। ती दुवै सङ्ख्या अहिले ह्वात्तै बढिसकेको छ।

राष्ट्रपति बोल्सोनारुले क्षेत्रीय रूपमा लगाइएका लकडाउनले भाइरसले भन्दा धेरै क्षति पुर्‍याएको भन्दै सञ्चारमाध्यमले त्रास फैलाएको दोष लगाएका छन्।

त्यसयता उनले सङ्क्रमणविरुद्ध चालिएका विभिन्न कदमको विरोध गर्दै आएका थिए। समुद्र तट बन्द गरिनु तथा मास्क लगाउनु पर्ने नियमको उनले आलोचना गरेका छन्। सोमवार मात्रै उनले ब्रजिलका मानिसहरूलाई सार्वजनिक स्थलमा मास्क लगाउनुपर्ने नियम खुकुलो पारेका थिए।

उनी स्वयम् स्थानीय नियम तोड्दै कैयन् सार्वजनिक कार्यक्रममा विनामास्क सामेल भएका थिए। आइतवार उनका विदेशमन्त्रीले सामाजिक सञ्जालमा राखेको तस्बिरमा राष्ट्रपति बोल्सोनारु तथा उनीसहित केही मानिस राजधानीस्थित अमेरिकी दूतावासमा स्वतन्त्रता दिवस समारोहमा रमाइरहेको देखिन्छ। तस्बिरमा कसैले पनि मास्क लगाएको वा सामाजिक दूरी कायम गरेको देखिँदैन।

अमेरिकी दूतावासले जुलाई ४ मा राष्ट्रपतिसँग राजदूतले खाना खाएको उल्लेख गरेको छ। राजदूतलाई कुनै लक्षण नदेखिएपनि परीक्षण गरिने बताइएको छ।

ब्रजिलको अवस्था कस्तो छ?
ब्रजिल तथा ल्याटिन अमेरिकामा सुरुमा कोरोनाभाइरसको सङ्क्रमण सुस्त थियो तर अहिले तीव्र बनेको छ। जुन २० मा ब्रजिल विश्वकै दोस्रो देश बन्यो जहाँ सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ। अहिले त्यो सङ्ख्या १५ लाख नाघिसक्यो। ज्यान जानेको सङ्ख्या ६०,००० नाघिसकेको छ।

तर त्यहाँ लकडाउन भने खुकुलो पारिएको छ। रियो तथा साओ पाउलो दुवै शहरमा गत साता रेस्टुरेन्ट तथा बार खुलेका छन्। यसबीच राष्ट्रपतिसँग असहमति भएका कारण दुई जना चिकित्सक स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन्।

एउटा सकारात्मक कुरा चाहिँ के छ भने ब्रजिलको खोपमा उल्लेख्य योगदान रहेको छ। अहिले पनि दुई महत्त्वपूर्ण खोपको अन्तिम चरणको परीक्षण ब्रजिलका हजारौँ स्वयंसेवीहरूमा गरिएको छ। ती परीक्षण एस्ट्राजेनेका तथा साइनोभ्याकसँग साझेदारीमा गरिँदैछ।