बाग्लुङमा एक जना कोरोना संक्रमितको मृत्यु, ३५ पुग्यो मृत्यु हुनेको संख्या

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, १६ : ५१

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाग्लुङको निसीखोला गाउँपालिका–२ का २९ वर्षीय युवकको मृत्यु भएको हो । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । 

युवक फोक्सोको समस्या भएपछि उपचारका लागि भारत गए। उनको उपचार हुन सकेन, अस्पतालले घर फर्काइदियो । लकडाउनका कारण लामो समय भारतमा नै बस्न बाध्य भए । भारतबाट उनी असार १ गते बाग्लुङ आइपुगेका थिए ।

ती युवकसँगै अरू १५ जना भारतबाट आएका थिए। बाग्लुङको बुर्तिबाङमा झरेपछि अरू क्वारेन्टिनमा गए,  उनी जान मानेनन् ।

‘मेरो श्रीमानलाई डाक्टरले अब मर्छ भनेको छ, घरमै गएर मर्ने हो,’ ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेले मृतकका श्रीमतीको भनाइ उद्धृत गर्दै सेतोपाटीसँग भने, ‘त्यसपछि उहाँहरू ससुराली जानु भएछ ।’

बुर्तिबाङबाट प्रहरीले आफ्नो गाडीमा राखेर युवकसहित उनको परिवारलाई ढोरपाटन-४ स्थित ससुराली घरसम्म पुर्‍याइदिएको थियो ।

ती युवकसँगै आएका अन्य व्यक्ति भने ढोरपाटन-४ खुङ्गाको छोरेगाउँ माविमा बनाइएको क्वारेन्टिनमा बसेका थिए ।

क्वारेन्टिनमा बसेकाहरूको पिसिआर परीक्षण गर्न स्वाब लिन स्वास्थ्य टोली छोरेगाउँ माविको क्वारेन्टिन गए । त्यहाँ रहेका अन्य व्यक्तिहरूले आफूसँगै आएका ती युवक र उनका परिवार ससुराली घर गएको बताए । त्यसपछि ससुराली घर बसेका ती युवक र उनका परिवारलाई १२ दिनपछि फेरि छोरेगाउँ माविको क्वारेन्टिनमा ल्याएर राखेको ढोरपाटनका स्वास्थ्य प्रमुख चालिसेले बताए ।

निसीखोला गाउँपालिका-२ घर भए पनि ती युवक र उनका परिवार ढोरपाटनस्थित ससुराली नै बसेका थिए । पिसिआर परीक्षणका लागि ती युवकसँगै १५ जनाको स्वाब असार १२ गते संकलन गरेर पोखरा पठाएको थियो । जसमा १३ जनाको रिपार्ट यसअघि नै आएको थियो भने २ जनाको आउन बाँकी थियो । १३ जनाको रिपोर्ट आउँदा ती युवकसँग नआएका अर्कै समूहका १ युवकको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ आएको थियो ।

सँगै स्वाब पठाए पनि रिपोर्ट आउन बाँकी रहेका २ जना तिनै युवक र उनका छोराका थियो । उनका श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको थियो। आइतबार बिहान निधन भएपछि मात्र युवकको रिपोर्ट पोजेटिभ आयो । अझै उनका छोराको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख चालिसेले बताए ।

चालिसेका अनुसार ती युवकको स्वास्थ्य अवस्था नाजुक थियो । उनले यसअघि टिबीको औषधी खाइरहेका थिए । अहिले उनको परिवार क्वारेन्टिनमै रहेको चालिसेले बताए । १२ दिनसम्म ससुराली गए पनि घरका अन्य व्यक्तिसँग भने सम्पर्क नभएको उनले बताएका छन् । ‘ससुराली घरभन्दा केही तल गोठजस्तो थियो, त्यहीं बसेका रहेछन्,’ चालिसेले भने ।