उत्तर कोरियाको गतिविधिका लागि ओबामा र बुसलाई दोष दिन्छन् ट्रम्प !

एजेन्सी

बुधबार, १६ फागुन २०७४, ०८ : १७
उत्तर कोरियाको गतिविधिका लागि ओबामा र बुसलाई दोष दिन्छन् ट्रम्प !

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसलाई उत्तर कोरियामाथि उचित तरिका नअपनाएकाले आज देशमा गम्भीर समस्या आइलागेको आरोप  लगाएका छन् ।

सोमबार ह्वाइटहाउसमा बसेको बैठकमा भाषण गर्दैगर्दा ट्रम्पले पूर्व राष्ट्रपतिहरुले उनीहरुको कार्यकालमा उत्तर कोरियाको हतियार निर्माण कार्य रोक्नमा कुनै प्रभावकारी प्रयास नगरेकाले आज आफूले त्यसको सम्पूर्ण नतिजा भोग्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘बुसको प्रशासनले त्यसविरुद्ध कुनै काम गरेन । त्यस्तै ओबामाको कार्यकालमा समेत कुनै कदम उठाइएन । उनले मलाई यो एक मात्र ठूलो समस्या हो भनेका थिए तरपनि केही गर्न सकेनन् । अहिलेको तुलनामा पहिले यो मुद्दालाई सुल्झाउन धेरै सजिलो थियो ।’

यसपछि ट्रम्पले आफ्ना प्रयासहरु सफल हुँदै गएको टिप्पणी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका हुन् । आफ्नो कार्यकालमा अमेरिका उत्तर कोरियासामु कडा रुपमा प्रस्तुत भएकाले समस्या समाधान हुने सम्भावना बढ्दै गइरहेको उनले बताए ।

तर उता विज्ञहरुले भने ट्रम्प प्रशासनमा उत्तर कोरियाली मुद्दा सबैभन्दा गम्भीर स्थितिमा पुगेको दाबी गर्ने गरेका छन् । अहिलेको अवस्थामा उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने मिसाइल परीक्षण गरेको बताइरहँदा खतरा दिनप्रति दिन बढ्दै गइरहेको सम्बन्धि अमेरिकी अधिकारीहरु पनि गम्भीर रहेको बताइएको छ ।

साथै ट्रम्पले चीनको प्रशंसा गर्दै उत्तर कोरिया विरुद्ध चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो प्रयास गरि अमेरिकाको साथ दिएको बताए ।

प्रतिक्रिया दिनुहोस