खोकनावासीको प्रश्न : सरकारले रोपाईं रोक्ने हो कि कोरोनाको संक्रमण ?

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, १४ : २३
खोकनावासीको प्रश्न : सरकारले रोपाईं रोक्ने हो कि कोरोनाको संक्रमण ?

काठमाडौँ । असार १५ गते धान दिवसमा रोपाईं गर्न खोज्दा खोकनावासीलाई प्रहरीले रोक्न खोज्यो, तर सकेन । पाँच दिनपछि आज दिउँसो सुडोल क्षेत्रमा पनि रोपाईं रोक्न पुगेको प्रहरीसँग स्थानीयवासीको झडप भएको छ । खोकनावासीले प्रश्न गर्न थालेका छन्  "ए सरकार, रोपाईं रोक्ने हो कि कोरोनाको संक्रमण ?"

सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

सयौँको संख्यामा प्रहरी र त्यसको दोब्बर संख्यामा रहेका स्थानीयवासीबीच झडप हुँदा सामाजिक दुरी सिधै सहिद भएको छ । सरकारको यस्तो कामले कोरोना भाइरसको संक्रमण फैलन मद्दत पुग्ने देखिन्छ ।

सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक)को जिरोमाइल हो । यस क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ, तर स्थानीयले मुआब्जा लिइसकेका छैनन् ।

सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस