काठमाडौंको ढलमा कोरोना भाइरस फेला

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, १३ : ४२
काठमाडौंको ढलमा कोरोना भाइरस फेला

काठमाडौं । काठमाडौ उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोरोना भाइरस फेला परेको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स ९सिएमडिएन०नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।

उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए । उनका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए ।

‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पार्यौं,’ डाक्टर कर्मचार्यले भने ।

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन् । जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरु समेत बचत हुनेछ ।

जनस्वास्थ्य वैज्ञानिक समिरमणी दीक्षितका अनुसार भाइरसको थोरै मात्र परीमाण भयो भने ढलबाट जाँच गर्दा भाइरस पत्ता लाग्दैन । यो अध्ययनले उपत्यकाका केही ठाउँका धेरै मानिसमा संक्रमण देखाएको उनी बताउँछन् । उनले भने, ‘अब हामी ललितपुरको वडा–वडाको अनुसन्धान गर्छौं ।’

यो अध्ययनले समुदायमा संक्रमण भएको प्रष्ट पारेको भन्दै जोखिम समूहका मानिसहरुलाई बचाउनु पर्ने डाक्टर दीक्षित बताउँछन् । सामाजिक दुरी कायम नगर्ने हो र अन्य सुरक्षाका उपाय नअपनाउने हो भने संक्रमण जोखिम समूहमा छिर्न सक्ने उनको दाबी छ । दीक्षित भन्छन्, ‘अब त राज्यले पनि समुदायस्तरमा नै संक्रमण फैलिएको मानेर त्यसको रोकथामको लागि जुट्नुपर्छ ।’

यो अध्ययनको दायरा बढाएर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्ने डाक्टर दीक्षितले बताए ।