कर्णालीमा ८० प्रतिशत कोरोना सङ्क्रमित निको

रासस

शनिबार, २० असार २०७७, ०९ : १५
कर्णालीमा ८० प्रतिशत कोरोना सङ्क्रमित निको

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।

दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । 

‘शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको सङ्ख्या १ हजार १ सय ७८ पुगेको छ’, महाशाखा प्रमुख डा तिवारीले भने,‘यसले बाँकी रहेका ३ सय ५ सङ्क्रमितको मनोवल बढेको छ ।’ कर्णालीका सङ्क्रमितमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए ।     

दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा नारायण नगरपालिकाका आठ र एक डुङ्गेश्वर गाउँपालिका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १सय ५ जना स्थानीय सङ्क्रमित यससँगै कर्णालीमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय सङ्क्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय सङ्क्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् । अधिकृत कँडेलले भने, ‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना सङ्क्रमण देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।’ कोरोना सङ्क्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस