वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, १३ : ४७
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु

काठमाडौं । वैदेशिक रोजगारीमा गएका तर बिदामा स्वदेश फर्किएका नेपालीहरु पुनः विदेश जान पाउने भएका छन् । 

वैदेशिक रोजगार विभागले मन्त्रिपरिषद्को सोमबारको निर्णय बमोजिम आफ्ना मातहतका कार्यालयलाई  त्यस्तो श्रमिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेर पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको हो । 

त्यस्तै, करार अवधि सकिएर पुनः करार नबीकरण गरेका र भिसाको म्याद समेत थप भएका व्यक्तिले समेत निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकललाई पालना गर्दै पुनः श्रम स्वीकृति दिन भनिएको छ ।

कोरोना माहामारीका बीच पनि कतिपय देशमा लकडाउन नभएको र उद्योगहरु चलिरहेको अवस्थामा पहिले गएर फर्केकाहरुलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो । कतिपय कम्पनीबाट कामदारको माग भइ आएको र पहिले नै कागजात तयार भइसकेकाहरुका लागि श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस