सुरक्षा निकाय आफैले पीसीआर परीक्षण गर्ने

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, १३ : ३१
सुरक्षा निकाय आफैले पीसीआर परीक्षण गर्ने

काठमाडौं । विश्वभर कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका बेला सुरक्षा निकायहरु आफैले पीसीआर परीक्षण गर्ने तयारी थालेका छन् । सुरक्षाकर्मीमा संक्रमितको संख्या बढ्दै जाँदा आफैले पीसीआर मेसिन खरिद गरेर कोरोना परीक्षण गर्ने तयारी थालेका हुन् । 

कोरोना सङ्क्रमको बेला फ्रन्ट लाइनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । सेनाले सैनिक अस्पताल, छाउनीमा राख्ने गरी पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । सशस्त्र प्रहरीले पनि मेसिन खरिदका लागि टेण्डर खुलाएको सशस्त्र प्रहरी अस्पतालका डीएसपी डा. प्रविण नेपालले जानकारी दिए । त्यस्तै, नेपाल प्रहरी अस्पतालमा पनि बुधबार पीसीआर मेसिन राखिएको छ । 
नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जय श्रेष्ठले केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेको भन्दै केही दिनपछि पूर्ण रुपमा सञ्चालनमा आउने बताए । 

आरोपीको म्याद थप्दा पीसीआर रिपोर्ट अनिवार्य
काठमाडौँको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार असार ८ गते जिल्ला अदालत, काठमाडौंले पीसीआर रिपोर्ट नल्याएको भन्दै विद्युतीय कारोबार सम्बन्धी ऐनका एक अभियुक्तलाई फिर्ता गरिदिएको थियो ।

थापाले भने, ‘अदालतले अभियुक्तसँगै रहने सुरक्षाकर्मीको पनि पीसीआर जाँच्न भनेको थियो ।’ तर, प्रहरी अधिकृतलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा प्रहरीकहाँ नै जाँच्ने भन्दै फर्काइयो । 

‘पहिले प्रयोगशालामा पठाउँदा प्रहरीले नै जाँच्छ भनेर फर्काइएको थियो, प्रहरी अस्पतालमा अहिले पसीआर उपकरण जडान भएको छ’, थापाले भने, ‘हाल प्रहरी अस्पतालमै स्वाब संकलन गरेर प्रयोगशाला पठाउने गरिएको छ ।’

मिसनमा जान पनि पीसीआर रिपोर्ट
नेपाली सेनाका एक हजार सैनिक अधिकारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाँदैछन् । महामारीका कारण तीन महिना रोकिएको बदली पुनः सुरु भएसँगै उनीहरुलाई पाँच खालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा राखिएको छ ।

यूएनले उनीहरुको पीसीआर रिपोर्ट अनिवार्य पठाउन भनेको छ । त्यसैले जाँचका लागि सेनाले पनि आफैं पीसीआर मेसिन खरिद गर्न लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘एकपटकको टेण्डर रद्द भएको छ र दोस्रो पटक फेरि टेण्डर खुलाउँदैछौं’, उनले भने, ‘यो सैनिक अस्पतालमा राखिनेछ ।’

सेनाले विदामा गएका सैनिकहरुलाई पनि पीसीआर परीक्षण गरेर मात्र ब्यारेकमा राख्ने गरेको छ । त्यसैले पनि पीसीआर मेसिन सैनिक अस्पतालमा राख्नु आवश्यक रहेको जंगीअड्डाका अधिकारीहरुको भनाइ छ । सरकारले दैनिक पीसीआर जाँचलाई बढाउँदै लैजाने तयारी स्वरुप सुरक्षा निकायलाई पनि पीसीआर जाँच गर्न दिने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीले खरिद गर्न लागेको पीसीआर मेसिन बलम्बुस्थित कोभिड विशेष अस्पतालमा राखिनेछ । त्यहाँ सशस्त्र प्रहरीका अधिकारीहरुको जाँच हुनेछ । हालसम्म नेपाली सेनामा ५२ जना अधिकारीमा कोभिड–१९ संक्रमण देखिएको छ भने २५ जना निको भइसकेका छन् । नेपाल प्रहरीका ८२ जना संक्रमित रहेको प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउँछन् । सशस्त्र प्रहरीमा ४३ जना संक्रमित छन्, तीमध्ये २५ जना निको भइसकेको सशस्त्र प्रहरी प्रवक्ता प्रविणकुमार श्रेष्ठले बताए ।