कविता : खेदो खनेको कति ?

विहीबार, १८ असार २०७७, ११ : ३७
कविता : खेदो खनेको कति ?

साङ्केतिक फोटो

- राजेन्द्र घायल

पैसो खर्च भयो र सिद्धिन गयो धान्ने कहाँ के गरी ?
हट्ने छाँट रहेन संक्रमितका संख्या बढे बेसरी
मैंले  खानु भनें बुझेर महिमा बेसार हो ओखती
मान्छेले नबुझी उँडाउन गए खेदो खनेको कति ?

हाछ्यूँ गर्नु किटाणु भाग्छ भनियो बुझ्दै गए सत्य हो
बङ्ग्याएर अनेक तर्क गरियो हाँसो चल्यो जोडको
फोटो देख्छु यहाँ पहेंलिन गए बेसार जस्ता अति
बौलठ्ठी‌पन यो मजाक रमिता खेदो खनेको कति ?

काटें केक अगाडि जन्मदिनमा काटेछ देशै भने
धेरै कच्कच झेलियो नजिकका आफन्त वैरी बने
टुक्का भन्छु उखान बुझ्छ जसले सुध्रन्छ उस्को मति
दर्जा मिल्छ उखान बा तर यहाँ खेदो खनेको कति ?

पैसोको अति दुःख भो मुलुकमा ल्याऊँ भने एम् सि सि
लाग्यो‌ बेच्न भनेर यो मुलुक नै गर्छन्‌ सबैले खिसी
के‌ गर्ने र विकल्प छैन रुपियाँ‌ पैसा विना उन्नति
पासै गर्न हुँदैन रे अब हरे खेदो‌ खनेको कति ?

भन्नेले‌ त भने तँ छस् मुलुकको‌ सर्वोच्च त्यो‌ शिरमा
यो आफ्नो बह खै बिसाउनु कहाँ डुब्दै गएँ पीरमा
निद्रा छैन ‌झिमिक्क पोल्दछ सधैं छाती बडो भत्भति
धारे हात लगाउँछन्‌ जन यसै खेदो खनेको कति ?

बुझ्दैनन किन यो‌ परिस्थिति यहाँ देखेर कोही‌ पनि
आफ्नैले कर‌‌ गर्दछन् अबुझ भै दे राजिनामा भनी
जो‌ जो आउछँँ बस्न‌ यो‌ सिटविषे यस्तै हुने हो‌‌ गति
कोरोना सरि भै लडाउँछु भनी‌ खेदो खनेको कति ?

प्रतिक्रिया दिनुहोस