चीनले लागु गरेको नयाँ सुरक्षा कानुन अन्तर्गत हङकङमा धमाधम पक्राउ

एजेन्सी

विहीबार, १८ असार २०७७, १० : ०८
चीनले लागु गरेको नयाँ सुरक्षा कानुन अन्तर्गत हङकङमा धमाधम पक्राउ

एजेन्सी । चीनले लागु गरेको नयाँ सुरक्षा कानून अन्तर्गत हङकङ प्रहरीले प्रदर्शनमा उत्रिएकाहरुलाई पक्राउ गर्न थालेको छ । ‘प्रदर्शन–विरोधी’ कानूनलाई आधार बनाएर हङकङ प्रहरीले बेलायती उपनिवेशन अन्त्य भएको २३ औँ वर्षगाँठ मनाउनका लागि भेला भएकाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये १० जनालाई कानून उल्लंघन गरेको आरोप लगाइएको छ । ¥यालीको क्रममा प्रहरीले ३६० जनालाई  नियन्त्रणमा लिएको हो । चीनले विखण्डन तथा आतंकवाद नियन्त्रणका लागि भन्दै नयाँ सुरक्षा कानून हङकङमा बुधबार लागु गरेको हो । मंगलबार पारित भएको सो कानून बुधबार बेलायतले चीनलाई हस्तान्तरण गरेको दिन पारेर लागु भएको हो ।

तर प्रजातन्त्र पक्षधरहरुले चीनले लागु गरेको नयाँ कानूनले हङकङको स्वतन्त्रता तथा स्वायत्ततता गुम्ने बताउँदै आएका छन् । उनीहरुले सो कानून घोषणा भएदेखि नै विरोध गर्दै आएका छन् । सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

पछिल्लो समय चीनले हङकङको स्वायत्ततालाई कुण्ठित गर्न प्रयास गरिरहेको अधिकारकर्मी तथा प्रजातन्त्र पक्षधरहरुको भनाई छ । गएको वर्ष सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा दशौँलाख मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरे । प्रदर्शनका कारण विधेयक रोकियो र त्यसपछि फिर्ता लिइयो।

अहिले फेरि सुरक्षा कानूनलाई लिएर त्यहाँ विरोध चर्किएको छ । अन्तर्राष्ट्रिय समुदायले पनि चीनको कदमको गम्भीर विरोध गरेका छन् । यसैबिच बेलायतले हङकङका ३० लाख बासिन्दालाई नागरिकताको प्रस्ताव गरेको छ। प्रधानमन्त्री बोरिस जोन्सनले हङकङका बासिन्दलाई बेलायतमा बसोबास गर्ने र नागरिकता प्रदान गर्ने प्रस्ताव गरिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस