काठमाडौं । सरकारले हङकङका लागि नेपाली महाबाणिज्य दूत बिन्देश्वर प्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
उनलाई बिहिबार (बैशाख १० गते)बसेको मन्त्रीपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । उनलाई २० दिनभित्र नेपाल फर्केर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन समेत सरकाले गरेको छ ।
उनी केपी ओली नेतृत्वको सरकारका पालामा हङकङका लागि नेपाली महाबाणिज्य दूतका रुपमा नियुक्त भएका थिए । ओली नेतृत्वको पालामा नियुक्त भएका अन्य तीन महाबाणिज्यदूतहरु भरत खनाल, लक्ष्मीप्रसाद निरौला र झक्क प्रसाद आचार्यलाई भने सरकारले फिर्ता बोलाएको छैन । विन्देश्वर झण्डै एक वर्ष अगडी देखि हङकङ र मकाउ (चीनका विशेष प्रशासनिक क्षेत्र) मा नेपालको महाबाणिज्य दूतका रुपमा काम गदैं आएका थिए ।
ओली प्रधानमन्त्री भएकै बेलाका गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकका निकट मनिने विन्देश्वरलाई मात्र सरकारले किन फिर्ता बोलाएको हो भन्ने बारेमा सरकारले औपचारिक रुपमा केही बताएको छैन । तर, परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनलाई कांग्रेसका निर्वतमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई हङकङको बसाईका क्रममा सहयोग र आतिथ्इता प्रदान गरेको आरोपमा सरकारले विन्देश्वरलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दम्पतीमाथी सम्पक्ति सुद्दिकरण मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको छ । त्यसपछि सरकारले देउवा दम्पक्तिलाई नै फरार सूचीमा राखेको छ । गत भदौं २३ र २४ को घटनामा देउवा दम्पती आफ्नै निवासमा निर्घात कुटिएका थिए ।
त्यसपछि उनीहरु उपचारको क्रममा सिंगापुर हुँदै हङकङ ओहोर दोहोर गरिरहेका थिए । पछिल्लो पटक पनि देउवा दम्पती फागुन २१ को चुनाव अगाडी देखि नै सिंगापुरमा उपचारका लागि पुगेका थिए । उनको परिवार नै त्यसयता कहिले सिंगापुर त कहिले हङकङमा बस्दै आईरहेको छ ।
देउवा दम्पतीको हङकङ बसाईका क्रममा महाबाणिज्य दूत रहेका विन्देश्वरले आतिथ्यता प्रदान गर्ने देखि अन्य सहयोग गरेको सरकारी पक्षको आरोप छ । ‘ठ्याक्कै महाबाणिज्य दूतलाई फिर्ता बोलाउने बारेमा सरकारले औपचारिक मुख नखोलेपनि देउवा दम्पतीलाई सहयोग गरेको आरोपमा उहाँ (विन्देश्वर) लाई सरकारले फिर्ता बोलाउने निर्णय लिएको हो,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने ।
देउवा दम्पती हाल हङकङको स्ट्यान्ली क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् । जहाँ एक घरेलु सहयोगी र सुरक्षाकर्मीहरू राखिएको छ। उनीहरू सीमित रूपमा आफन्त र नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरूसँग मात्र भेटघाट गरिरहेका छन्।
सरकारले देउवा दम्पक्तिमाथी पक्राउ पुर्जी जारी गरेपनि इन्टरपोलमार्फत रेड कर्नर नोटिस भने जारी गरेको छैन। अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पती तथा उनीहरूका परिवारको नाममा रहेका चल–अचल सम्पत्ति रोक्का गरेको छ ।
सरकारले पक्राउ पुर्जी जारी गरेको ब्यक्तिलाई सरकारका प्रतिनिधिका रुपमा रहेका ब्यक्तिले सरसहयोग गरेको सूचना परराष्ट्र मन्त्रालयमा आएपछि महाबाणिज्यदूत विन्देश्वर लेखकलाई सरकारले फिर्ता बोलाउने निर्णय लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ बैशाख २०८३, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता
परराष्ट्रमन्त्री डा. राणा हङकङमा