झम्सीखेल भेलाको निस्कर्ष : ‘सहमतिमा नआए प्रधानमन्त्री ओलीलाई बहुमतले हटाउनु पर्छ’

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, ०८ : ४९
झम्सीखेल भेलाको निस्कर्ष : ‘सहमतिमा नआए प्रधानमन्त्री ओलीलाई बहुमतले हटाउनु पर्छ’

काठमाडौं । पार्टीभित्रै अल्पमतमा परेका प्रधानमन्त्री केपी ओली सहमतिमा नआए उनलाई पार्टीको बहुमतबाटै भएपनि हटाउने निर्णयमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुह पुगेको छ । ओलीले पार्टी बैठक चलिरहदा आफ्नो पक्षमा वातावरण निर्माणका लागि बालुवाटारभित्रै चर्काे गुटबन्दी गर्न थालेपछि प्रचण्ड नेपाल समुहले पनि ललितपुरको झम्सीखेलस्थित अँगेनो रेष्टुरेन्टमा बुधबार साँझ भेला गरी त्यस्तो निर्णय गरेको हो ।

भेलामा ९ सदस्यीय सचिवालयका ६ नेता सहभागी थिए । सचिवालयका ६ सहित स्थायी समितिका ४४ सदस्य मध्ये ३० सदस्य भेलामा सहभागी थिए । ओलीको स्वेच्छाचारी प्रवृतिका विरुद्द एक गठ भएर मंगलबारको पार्टी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व अब दुबै चल्न नसक्ने भन्दै राजीनामा मागेका थिए । त्यसपछि स्थायी समितिमा सोही दिन अन्य थप नेता र बुधबार पनि ओलीको राजीनामा बोल्ने नेताहरुले माग्न छोडेका छैनन् ।

तर ओली पार्टी नेताहरुले उनलाई राजीनामा दिन सझुाईरहदा पनि त्यसलाई शिरोधार्य गरेर अगाडी बढ्नु भन्दा पनि आफ्नो सरकार टिकाउन वैध, अवैध अनेक योजनामा लागेपछि प्रचण्ड नेपाल समुहले उनलाई पार्टीले गर्ने संस्थागत निर्णयमा सहमतिमा आउन आग्रह गर्ने निस्र्कष निकालेका हुन् ।  सकभर ओलीलाई सहमतिमा ल्याउने र राजीनामा दिन लगाउने तर ओली त्यसरी सहमतिमा आउन नचाहे पार्टीका जुनकुनै कमिटिमा पनि बहुमत र अल्पमतकै आधारमा भएपनि निर्णय लिएर ओलीलाई हटाई छोड्ने निश्र्कष झम्सिखेल भेलाले निकालेको भेलामा सहभागी एक स्थायी समिति सदस्यले बताए ।

ओलीलाई स्थायी समितिका सदस्यहरुले राखेका धारणाका आधारमा राजीनामा दिन आग्रह गरिने र त्यसका लागि अध्यक्ष प्रचण्ड सहित सचिवालयका नेताहरुले आग्रह गर्ने पहिलो विकल्प झम्सीखेल बैठकले निकालेको छ ।  त्यसका लागि ओलीमाथी आज बस्ने स्थायी समिति बैठकबाटै दबाब बढाउने रणनीतिमा प्रचण्ड नेपाल समुह छ । त्यसो गर्दा पनि ओलीले अटेर गरेमा पार्टीको बैठकबाट उनलाई हटाउने निर्णय नेकपाले लिनेछ । त्यसरी पार्टीले गरेको निर्णयलाई पनि अटेर गरेर बसेमा उनका विरुद्द के गर्ने भन्ने त्यसपछि निर्णयमा पुगिने गरी अब मसक्कै आटेरै जाने योजनामा प्रचण्ड नेपाल पक्षले निस्र्कष निकालेका हुन् । 

उहाँबाट पार्टी र सरकार दुबै चल्दैन भन्ने हाम्रो सामुहिक निस्र्कष छ, अब उहाँले पार्टी नेताहरुले भने जस्तै सहमतिका आधारमा पद त्याग गर्नुभए सबैभन्दा राम्रो हुन्छ, भएन भने पनि पार्टीले बहुमत अल्पमतकै आधारमा भएपनि उहाँलाई हटाउने निर्णय लिन्छ, झम्सीखेल भेलामा सहभागी एक स्थायी समिति सदस्यले भने । भेलामा गत वैशाख १० गते लिखित रुपमा पार्टी स्थायी समिति बैठक माग गर्ने २० नेताहरु, ओली नेतृत्वकै सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति वस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषि मन्त्री घनश्याम भुषाल पनि सहभागी थिए ।

सचिवालयका ९ मध्ये ६ नेता भेलामा सहभागी थिए । स्थायी समितिका ४४ मध्ये भेलामा ३० जना नेता सहभागी थिए ।  यस अगाडी सरकार सञ्चालनको काममा ओली पक्षमा रहेर सहयोगी भूमिका खेलिरहेका सचिवालय सदस्य तथा गृहमन्त्री बादलले पनि झम्सिखेल भेलामा पुगेर अब सरकार र पार्टी यही शैलीमा चल्न नसक्ने भन्दै पार्टी निर्णयलाई प्रधानमन्त्री ओलीले पनि मान्नुपर्ने बताएका थिए । पार्टीले गर्ने निर्णय भन्दा माथी कुनै कोही ब्यक्ती पनि हुदैन्, सबैले त्यसलाई मानेर जानुपर्छ, प्रधानमन्त्रीको अहिलेको शैलीले अब सरकार अगाडी जान नसक्ने देखिएको छ, बादलले झम्सिखेलमा गएर बोलेका थिए ।

बालुवाटारमा नबोलेका बादल झम्सीखेलमा पुगेर भने बोलेका थिए । बैठकमा सहभागी नेताहरुले आफ्नो धारणा र कित्ता प्रष्ट पार्न उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री थापालाई आग्रह गरेपछि दुवै नेताहरुले पार्टीभित्रको स्वेच्छाचारिताको सदैव विपक्षमा आफुहरु रहेको प्रष्टोक्ति दिएका थिए । 
 
लेखराज ओलीतिर, योगेश चाही कता ? 
झम्सीखेल भेलापछि पूर्व माओवादी धारका नेता लेखराज भट्ट बाहकेका अन्य सबै नेता एकैतिर प्रष्टसँग खुलेका छन् । बादल कतै ओलीतिर खुल्ने पो हुन की भन्ने आशंका रहेपनि उनले बुधबारको झम्सिेखल भेलामा पुगेर निर्णायक अवस्थामा आफ्नो साथ अध्यक्ष प्रचण्डलाई नै हुने देखाएका छन् ।  उनले भेलामा गएर आफु सदैब पार्टीमा विधि पद्दतीकै पक्षमा रहेको बताएका थिए । तर माओवादी धारका एक जना मात्र नेता लेखराज भट्ट भने ओली कित्तातिर देखिएका छन् । 

उनलाई भेलामा निम्तो समेत गरिएको थिएन् । भट्ट सुदुरपश्चिममा ओली समुहको नेता बन्ने दाउमा लागेर ओलीतिर लागेका थिए । सुदुरपश्चिमका नेता भीम रावल प्रचण्ड नेपाल समुहमा रहेको र उक्त समुहबाट त्यहाँ नेता बन्न नपाउने भएपछि ओली समुहबाट नेता बन्न भट्ट ओली कित्तामा खुलेका हुन् । जसकाकारण उनलाई बुधबारको झम्सिखेल भेलामा निम्तो नगरिएको एक स्थायी समिति सदस्यले बताए । 

भट्टले प्रधानमन्त्रीको कित्तामा आफुलाई उभ्याईसक्नुभएको छ, अब उहाँ हामीहरु तिर देखिनुहुँन, त्यही भएर उहालाई निम्तो भेलामा नगरिएको हो, ति स्थायी समिति सदस्यले सफलखबरसँग भने ।  माधव नेपाल समहुमा रहेका पर्यटन मन्त्री योगेश भट्टराईलाई भने भेलामा निम्तो गरिएको थियो । तर उनी सहभागी भएनन् । उनले आफु सार्वजनिक कार्यक्रममा जानु परेकोले आउन नसक्ने सन्देश पठाएको ति नेताले बताए । तर भट्टराई बुधबार  बिहान ओलीले बोलाएको छलफलमा सहभागी भएका थिए । त्यहाँ उनले दुई अध्यक्षलाई मिल्न भन्दै मध्यमार्गी धारमा आफ्नो धारणा राखेका थिए । 

दिउँसो स्थायी समितिको बैठकमा पनि भटटराईले बीचमा रहेर आफ्नो धारणा राखेका थिए । पार्टी बैठकमा योगेशले पार्टीमा अहिल्यै कसैको लाइसेन्स कसैले चाहदैमा खारेज गर्ने बेला नभएको भन्दै दुवै अध्यक्षलाई विवाद मिलाउने गरी छलफलमा बस्न आग्रह गरेका थिए । ‘पार्टी एकतालाई बचाएर लैजानु पर्छ । दुई जना नेताहरु मिल्नुहोस्, कसैको लाइसेन्स खारेज गर्ने बेला भएको छैन, अहिले । दुई नेताहरु बस्नुस्, सचिवालयको बैठक राख्नुहोस् र साझा ठोस अवधारणा बोकेर स्थायी समितिमा आउनुहोस्,’– भट्टराईले भने ।  उनले पार्टी एकता दुई अध्यक्षले हिम्मतका साथ गरेर हिरो बनेको उदाहरण राख्दै अहिले पनि पार्टीमा देखिएको विवाद समाधान गरेर हिरो बन्न आग्रह गरेका थिए ।

अन्य नेताहरुले जस्तो गरी एक अर्काे पक्षमा लागेर टिप्पणी गर्ने भन्दा भट्टराईले आफुलाई बीचधारमा राखेर शीर्ष नेताहरुलाई मिलेरै जान आग्रह गरे । उनले भने,–‘पार्टीमा देखिएको विवाद समाधानमा लिड गरेर फेरी हिरो बनेर देखाउनुहोस् । जाने अर्काे कुनै बाटो छैन,  प्रचण्ड कमरेडले पनि पुल भत्काएर हामी आयौं भन्नुभएको छ ।

पुल भत्काएरै आएका हौं, हामी सबै । त्यसैले पनि मिलेर जानुको विकल्पै छैन् । एकले अर्काेलाई दोषारोपण गर्ने बेला हाम्रा संस्कृति सम्भयतालाई पनि ख्याल गर्नुपर्ने भएको छ । कम्प्रोमाइज गरेर जानुको अर्काे विकल्प छैन् । आवेश र उत्तेजनाबाट मुक्त भएर माथीबाटै छलफल गर्नुहोस्, हामी सहयोग गर्न तयार छौं ।’
 

प्रतिक्रिया दिनुहोस