काठमाडौं । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि एकीकृतरुपमा योजना बनाउनुपर्ने सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज यहाँ बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीले कोभिड १९ रोक्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा समन्वय अभाव देखिएकाले एकीकृत योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले क्वारेन्टिन, आइसोलेसन र उपचारका लागि सङ्घले पठाएको रकम प्रदेश र स्थानीय तहले नपाउने समस्या भएकोसमेत बताउनुभयो ।
उहाँले पिसिआरको रिर्पोट ढिलो आउँदा क्वारेन्टिन र आइसोलेसनमा बसेका उपचारमा समस्या भएकाले पिसिआर मेशिन थपेर चाँडै परीक्षण गर्नुपर्ने धारणा राख्नुभयो । समिति सदस्य खगराज अधिकारीले स्वास्थ्य विपद्कालीन घोषणा गरेर एकीकृतरुपमा औषधि, जनशक्ति र पिसिआर मेशिनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ को व्यवस्थापन नहुँदासम्म स्वास्थ्यमा विपद्कालीन अवस्था जारी राख्नुपर्ने बताउनुभयो ।
सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा मानिस बाहिरबाट दैनिक आउने गरेकाले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो । “पहिले काठमाडौँका कोभिड १९ परीक्षण भएको थियो”, उहाँले भन्नुभयो, “तर अहिले दैनिक उपत्यकामा लुकीछिपी आउनेको परीक्षण भएको छैन । यसले पछि गम्भीर अवस्था सिर्जना गर्दछ ।”
समिति सदस्य भैरवबहादुर सिंहले कोभिड–१९ रोकथाम गर्न तीनै तहबीच समन्वय नभएको बताउनुभयो । उहाँले आफूहरु निर्वाचित जनप्रतिनिधि भए पनि कोभिड–१९ रोकथाम गर्नका लागि कुनै भूमिका नदिएको धारणा राख्नुभयो । समिति सदस्य विद्या भट्टराईले कोभिड–१९ को कारणले अन्य बिरामीको उपचारमा समस्या परेकाले त्यसलाई समाधान गर्नुपर्ने बताउनुभयो ।
समिति सदस्य हितबहादुर तामाङले कोभिड–१९ अनिश्चित रहेकाले प्रयोगशाला बढाएर परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले परीक्षणको दायरा बढाउन थप १० प्रयोगशाला विस्तार गर्न थालिएको बताउनुभयो । उहाँले ७५३ स्थानीय तहमा नमूना सङ्कलन गर्नका लागि एक हजार ७५ टोली परिचालन गरिएको बताउनुभयो । उहाँले दैनिक आठ हजार परीक्षण गरे पनि अहिले २० दिनका लागि पिसिआर रिएजेन्ट रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ असार २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै