सीमा सुरक्षामा बिओपी राखेरमात्रै हुँदैन : जनार्दन शर्मा

आइतबार, १४ असार २०७७, १६ : २०
सीमा सुरक्षामा बिओपी राखेरमात्रै हुँदैन : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल–भारत सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा बिओपी राखेरमात्रै नहुने बताएका छन् । उनले  जनतालाई समेत जोड्नुपर्ने बताए । 

पार्टीको जारी स्थायी कमिटी बैठकमा  सीमा समस्याबारे आफ्नो धारणा राख्दै पूर्वगृहमन्त्री समेत रहेका शर्माले नेपालले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि सिंगो देश राष्ट्रिय स्वाधीनताको लडाइँमा होमिएको बताए । 

राष्ट्रिय स्वाधीनताको लडाइँका दुईवटा पक्ष भएको भन्दै उनले जनतालाई सुसंगठित र एकताबद्ध परिचालन गर्दै कुटनैतिक,राजनैतिक, जनदबाबको एकीकृत योजना बनाउनु पर्नेमा जोड दिए । ‘मुख्य कुरा वार्ताबाटै समस्याको समाधान खोज्ने हो ।

सीमा रक्षाका लागि मुलत सिमानाका जनता नै हाम्रा मुल आधार पिलर हुन् । ती जनताको दैनिक जीवन सञ्चालनको सुविधा र सुरक्षाको ग्यारेन्टी हुनेगरी सरकारले नीति तथा योजना बनाउनुपर्छ’, शर्माले भने, ‘बिओपीले मात्र सीमा रक्षा हुँदैन जनतालाई पनि जोड्नु पर्छ ।’

उनले सीमामा पर्खाल नै लगाउने भएपनि डिजिटल पर्खाल लगाउनु उपयुक्त हुने बताए ।  उनले आर्थिक आत्मनिर्भरता, समृद्धिको बाटोका लागि उदार समाजवादी सिद्धान्तका आधारमा योजनाबद्ध ढंगले उत्पादक शक्तिको विकास गर्दै उत्पादनका साधनमाथि सामूदायिक र सामाजिक स्वामित्व स्थापना गर्ने बाटो अपनाउनुपर्ने धारणा राखे ।