आलोचना छल्न होइन, विशेष कामले प्रधानमन्त्री अनुपस्थित : पर्यटनमन्त्री भट्टराई

शुक्रबार, १२ असार २०७७, १५ : ५६
आलोचना छल्न होइन, विशेष कामले प्रधानमन्त्री अनुपस्थित : पर्यटनमन्त्री भट्टराई

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विशेष कामका कारण जारी स्थायी कमिटी बैठकमा उपस्थित नभएको जानकारी दिएका छन्। उनले बैठकमा सरकारको काम कारबाहीमाथि स्थायी समिति सदस्यहरूबाट हुने आलोचना सुन्न नचाहेर प्रधानमन्त्री ओली उपस्थित नभएको भन्ने सत्य नभएको बताए। 

‘प्रधानमन्त्री विशेष कामले नआउनुभएको हो, अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्दै गर्ने र केही समयमा जोइन हुने कुरा जानकारी दिनुभएको छ’ बैठकमा सहभागी भएर निस्किएका मन्त्री भट्टराई सञ्चारकर्मीसँग भने, ‘उहाँ नभए पनि बहस नोटमा राखेका हुन्छौं। त्यहाँ भएका कुराहरू दुवै अध्यक्षलाई रिपोर्टिङ हुन्छ। अन्तिममा जवाफ दिनेबेला दुवै अध्यक्षले उठेका सबै विषय सम्बोधन गर्नुहुन्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आज सीमा समस्यासम्बन्धी छलफल चलिरहेको मन्त्री भट्टराईका अनुसार बैठकमा अहिलेसम्म स्थायी समिति सदस्यहरू बेदुराम भुसाल, रघुवीर महासेठ, पम्फा भुसाललगायत १० जना बढीले आफ्नो विचार राखिसकेका छन्। 

बैठकमा धारणा राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतलाई पटक–पटक सीमा समस्या समाधान गर्नका छलफलका लागि ताकेता गरे पनि भारतले बेवास्ता गर्दै आएको जानकारी दिएका थिए । ज्ञवालीका अनुसार नेपालले सेप्टेम्बर, अक्टोबर र डिसेम्बर महिनामा लगातार सीमा विवाद समाधानका लागि वार्ता गर्न प्रस्ताव गरे पनि भारतको तर्फबाट कुनै प्रतिक्रिया नआएको हो ।

आज धारणा राख्ने सदस्यहरुलाई १०\१० मिनेट समय दिइएको थियो । स्थायी समिति बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को बारेमा छुट्टै दस्तावेज प्रस्तुत गर्ने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस