– नारायण अधिकारी
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटाँैडा सडकखण्डको सडक दस्तुर सङ्कलन गर्ने गोन्द्राङको टोलबुथलाई लोथरमा स्थानान्तरण गरिने भएको छ । सडक बोर्डको यही असार ४ गते बसेको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले मनोहरि गाउँपालिका–६ लोथरमा टोलबुथ स्थानान्तरण गरिने जानकारी दिनुभयो । चालू आवमा सो ठाउँमा कर सङ्कलनका लागि वार्षिक रु १५ करोड आउने गरी ठेक्का लगाइएको थियो । यसअघि मूल्य वृद्धि नहुँदा रु ६ करोड ५१ लाखमा ठेक्का लगाइएकामा दोब्बरभन्दा बढी मूल्य बढाएसँगै राजश्व सङ्कलन बढेको उहाँले जानकारी दिनुभयो । त्यसअघि वार्षिक रु चार करोड ५२ लाखमा ठेक्का लगाइएको थियो । उहाँले भन्नुभयो, “ वार्षिक रु दुई करोड ५५ लाखमा लागेको ठेक्का गत वर्षसम्ममा आइपुग्दा रु १५ करोड पुगेको थियो ।”
सङ्कलित राजश्व सोही सडक मर्मतसम्भारमा खर्च हुने छ । उहाँका अनुसार गृहमन्त्रालय, सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय चितवनद्वारा अनुरोध गरिएपछि सीमा क्षेत्रमा टोलबुथ सार्न लागिएको हो । यसबाट मुख्यरुपमा पूर्वी चितवनका बासिन्दा प्रभावित हुँदै आएका थिए । आफ्नै जिल्लाको सदरमुकाम आवतजावत गर्दासमेत राजश्व तिर्नुपर्ने भएपछि उनीहरु मर्कामा परेको भन्दै प्रमुख राजनैतिक दलका जिल्ला नेतृत्व र जनप्रतिनिधिहरुले बुथ सार्न दबाब दिँदै आएका थिए । गत वर्षको असार ३ गते बुथमा स्थानीयवासीले आगो लगाएपछि त्यहाँ सुरक्षामा खटिएका प्रहरी घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ असार २०७७, १४ : ४१
लेखकबाट थप