उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्ने ?

एजेन्सी

मंगलबार, १५ फागुन २०७४, ०८ : ०४
उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्ने ?

दक्षिण कोरियामा शीतकालिन ओलम्पिकको अन्त्य भएसँगै उत्तर कोरियाको समस्या समाधान हुने अपेक्षा गरिएको थियो । पछिल्ला दिनमा दक्षिणका राष्ट्रपति मुन जे इनले उत्तर कोरियाली प्रतिनिधि र आफूबीचको दुवै पटकको वार्ता सफल भइरहेको दाबी गरेका छन् ।

यसैबीच ओलम्पिकको अन्तिम समारोहमा उत्तर कोरियाबाट आएका उच्च अधिकारीसँगको लामो भेटवार्तापछि राष्ट्रपति मुनले उनीहरु अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताएका हुन् । राष्ट्रपति मुनले बताए अनुसार हालै भएको छलफलमा उत्तर कोरियाले अमेरिकासँग कुरा गर्नमा कुनै समस्या नभएको बताएकाले चाँडै नै दुईदेशबीच वार्ता सम्पन्न हुने जानकारी दिएका छन् । यसअघि उत्तर कोरियालाई थप प्रतिबन्ध लगाएर अमेरिकाले लडाईका लागि झन उक्साइरहेको आरोप लगाइएको थियो । कोरियाली प्रायद्विपको शान्ति भङ्ग गराउन अमेरिकाले प्रयास गरिरहेको भन्दै उत्तर कोरियाले आक्रोश व्यक्त गरेको थियो ।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथि अहिलेसम्मकै भारी प्रतिबन्ध भएको बताउँदै यसले पनि काम नगरे दोस्रो चरणमा झन कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।

ट्रम्पको सो सन्देश उत्तर कोरियाली प्रतिनिधिहरुमाझ शुक्रबार नै पुगिसकेको बताइएको छ । यो भन्दा पहिले ट्रम्पले अमेरिका उत्तर कोरियासँग कुरा गर्न चाहिरहेको तर त्यसअघि प्योङयोङले पनि हतियार निर्माण कार्यमा रोक लागउन तयार हुनुपर्ने शर्त राखेका थिए । यो भन्दा अगाडि ओलम्पिकको उद्घाटन समारोहमा भने अन्तिम समयमा उत्तर कोरियाले अमेरिकासँगको वार्ता रद्द गराएको खबर बाहिर आएको थियो । आइतबार चाहिँ राष्ट्रपति मुनका प्रवक्ताले यसबारे जानकारी दिँदै, दक्षिण कोरिया र उत्तर कोरियाबीचको सम्बन्ध अगाडि बढ्दै गर्दा अमेरिकासँगको विवाद पनि चाँडै समाधान हुने बताए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस