सांसदको प्रश्न : मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ?

रासस

मंगलबार, ०९ असार २०७७, १५ : ५१
सांसदको प्रश्न : मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ?

काठमाडौँ । मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले  तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँहरुले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदानलाई नभुल्न सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी रुपमा देखिएको मल तथा बीउको अभावको समस्या समाधान गर्न माग गर्नुभयो । 

    सांसद लक्ष्मीकुमारी चौधरीले प्रश्न गर्नुभयो, “मल बीउ नपाएर किसानले कहिलेसम्म रुनु पर्ने हो ?” सांसद भरकुमार शाहले किसान धमाधाम बर्खेखेती लगाउन व्यस्त रहेका अवस्थामा रासायनिक मलको चरम अभाव भएको जनाउनुभाये । सांसद राजेन्द्रकुमार राईले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो ।

    सांसद वृजेशकुमार गुप्ताले सामुदायिक विद्यालयको गुणस्तर दिनप्रतिदिन खस्कँदै गएकाले तत्काल शैक्षिक गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अस्थायी, राहतलगायत शिक्षकलाई हटाएर स्थायी शिक्षक मात्र राख्न सरकारसँग माग गर्नुभयो । 

    सांसद रानी मण्डलले क्वारेन्टिनबाट कोरोना सर्ने अवस्था आएको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउन माग गर्नुभयो । उहाँले क्वारेन्टिनहरुको अवलोकन गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद भीमसेनदास प्रधानले सवारी साधनमा भौतिक दूरी कायम गर्न कठिन हुने भएकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन माग गर्नुभयो ।

    सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिममा भारतबाट आउने क्रम नरोकिएकाले कोरोनाको चुनौती थप बढेको जनाउँदै क्वारेन्टिनमा बसेका सबै नागरिकको पिसिआर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मीना सुब्बाले मृत्युपछि मात्र कोरोना परीक्षणको रिपोर्ट आएकाले यसको नियन्त्रणमा सरकार चुकेको आरोप लगाउनुभयो ।

    सांसद मनकुमारी जिसीले विदेशमा अलपत्र  नागरिकलाई उद्धार गरेर ल्याउनु सरकारको सकारात्मक कदम भएको उल्लेख गर्दै क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन माग गर्नुभयो । सांसद महेश्वरराज गहतराजले महिला हिंसा र जातीय विभेदको घटना बढेकामा चिन्ता व्यक्त गर्दै सामाजिक अपराध नियन्त्रण गर्नका लागि ठोस कदम चाल्न आग्रह गर्नुभयो ।

    सांसद रङ्गमती शाहीले क्वारेन्टिनमा महिला बलात्कृत हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्नुभयो । सांसद रामकुमारी चौधरीले बन्दाबन्दी अवधिमा ३७३ बलात्कार, ३४ बहुविवाह र  आठ बोक्सीसम्बन्धी घटना भएको जनाउँदै गम्भीर जघन्य आपराधिक घटना नियन्त्रण गर्न माग गर्नुभयो । सांसद लक्ष्मी परियारले रुकुम(पश्चिम) घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्नुभयो ।

    सांसद भवानी खापुङले पुष्पलाल लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रमा बन्ने पुलको अझै निर्माण हुन नसकेको जनाउँदै ठेकेदारलाई ताकेता गर्न माग गर्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले लकडाउनदेखि अन्तिमसम्मको अवधिलाई ‘शून्य’ समय मानी घरधनीले घरभाडा नलिने, बैंकले ब्याज नलिने, विद्यालयले शुल्क नलिने र दैनिक ज्यालादारी श्रमिकलाई मासिक रु सात हजार दिने व्यवस्था गर्न प्रस्ताव गर्नुभयो । 

    सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारले फजुल खर्च नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । सांसद मोहन बानियाँले तत्काल नागरिकता विधेयक सदनमा पेश गर्न माग गर्नुभयो । सांसद रामबहादुर विष्टले भ्रष्टाचार नियन्त्रणमा सरकारले उदासीनता देखाएको आरोप लगाउनुभयो ।  सांसद यज्ञराज सुनुवारले कामचोर र ठग ठेकेदारका लागि कोरोना बहाना मिलेको जनाउँदै सार्वजनिक खरीद ऐन संशोधन गरेर मुलुकप्रति घात गर्ने ठेकेदारलाई कारागार हाल्ने व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद रामकुमारी झाँक्रीले साना उद्यमीलाई कोरोनाका कहरबाट जोगाउनका लागि उचित राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस