कोरोना उपचार कोषमा रु २ अर्ब ३४ करोड संकलन

रासस

सोमबार, ०८ असार २०७७, २२ : ४४
कोरोना उपचार कोषमा रु २ अर्ब ३४ करोड संकलन

काठमाडौँ । सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड ६७ लाख ५८ हजार निकासा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनुभयो । सरकारको प्रणालीबाट विनियोजिन र केन्द्रीय बजेट प्रणाली, प्रदेश सरकार र स्थानीय तहको समग्र लेखाको अद्यावधिक खर्चको विवरण भने केही दिनमा समितिसमक्ष प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो ।

सरकारले मुलुकका १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार तथा भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई रु दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ ।

पिसिआर परीक्षण शुल्क पाँच हजार ५००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना पहिचानका लागि हुने स्वाबको पिसिआर परीक्षण शुल्क पाँच हजार ५०० कायम गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकासँग मिल्ने गरी उपचार प्रद्धति र क्वारेन्टिन नीतिमा परिवर्तन गर्न लागेका छौं,  उपचारमा लाग्ने खर्च घटाउन प्रयत्न भइरहेको छ ।

मुलुकमा हाल सञ्चालनमा २३ वटा प्रयोगशालाबाट प्रतिदिन सात हजार ५०० को दरले स्वाब परीक्षण भइरहेको छ । मन्त्रालयले कूल जनसङ्ख्याको दुई प्रतिशतलाई स्वास्थ्य परीक्षणका लागि आवश्यक समाग्रीको व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस