कविता : हाम्रो पेट

सोमबार, ०८ असार २०७७, १५ : २९
कविता : हाम्रो पेट

 

- प्रियम्बदा पन्त

घाँटी हाम्रो हुन्छ
पुरुष पोते भिराउँछ !
हाम्रो औंला मा
पुरुष औंठी छिराउँछ !
सिउँदो हाम्रो हुन्छ 
अधिकार पुरुष जताउँछ !
र हाम्रो पेट मा
आफ्नो हैकम बताउँछ !
बच्चा हामी दिन्छौं, ऊ लिन्छ र थर दिन्छ !
मरे पछि पनि हाम्रो स्वतन्त्रता छिन्छ !
पेट हाम्रो हो
पेट हामी बोक्छौं
यो पेट को बाऊ यो हो
त्यो चाहिँ हामी तोक्छौं !
हामीले तोक्छौं र बाउ बन्छ ऊ !
अनि नाक फुलाएर 
आँफूलाई बाउ भन्छ ऊ !
कसलाई थाहा छैन र
प्रसूति का क्षण मा
जीवन(मृत्यु को दोसाँध मा हामी हुन्छौं
तर हात कमाउँछन् पुरुषहरू 
बच्चाको नागरिकतामा 
फगत हाम्रो नाम दिन ?

प्रतिक्रिया दिनुहोस