कोरोना अस्पताल मर्मत गरी तयारी अवस्थामा राखिने

रासस

सोमबार, ०८ असार २०७७, १५ : ०२
कोरोना अस्पताल मर्मत गरी तयारी अवस्थामा राखिने

फाइल फाेटाे

चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मत गरी तयारी अवस्थामा राखिने भएको छ । स्नान गर्ने ठाउँबाट पानी बाहिर गएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सो क्षेत्रमा निर्मलीकरणको काम आइतबार सम्पन्न भएको छ । आजै प्राविधिक समूहले निरीक्षण गरी आवश्यक मर्मतसम्भार गरिने उनले जानकारी दिए ।

मर्मतसम्भारका लागि आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति तयार रहेको जनाएका छन् ।

धेरै खर्च लागेमा स्थानीय तहसँग समन्वय गर्न सकिने भए पनि न्यून खर्चका लागि भरतपुर अस्पतालले बेहोरेर मर्मतसम्भार गर्ने तयारी गरेको छ । सो अस्पतालको पाँच कोठामध्ये एउटा कोठामा बाहिर पानी आएको हो ।

एउटा कोठामा १० वटा श्यया राखिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामी थप भएमा राख्नका लागि कोरोना अस्पताल तयारी अवस्थामा राखिने बताए ।

सो अस्पतालमा देखिएका समस्या समाधान गरेर तयारी अवस्थामा राखिने छ । सरकारले कोरोना सङ्क्रमितको उपचारको पहिलो तह भरतपुर कोरोना अस्पताललाई तोकेको छ । दोस्रो भरतपुर अस्पताल हो भने तेस्रो शिक्षण अस्पताल काठमाडौँ हो । तिवारीले लक्षण नदेखिएका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न सकिने बताए ।

हाल भरतपुर अस्पतालको आइसोलेसनमा २७ जना सङ्क्रमित रहेका छन् । अस्पतालको आइसोलेसनमा ७५ जना अट्ने क्षमता रहेको छ । त्यसमध्ये १० श्यया सघन उपचार कक्ष हो ।

भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर कोरोना अस्पताल स्थापना गरी सञ्चालनका लागि वैशाख १ गते भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो । भरतपुर अस्पतालमा सङ्क्रमित सारिएको भए पनि उनीहरुलाई छुट्टै प्रवेशद्वार, बाटो र एक तल्ला सिल गरेर सुरक्षित ढङ्गले राखिएको छ ।

प्रतिक्रिया दिनुहोस