लुकिछिपी आउनेले बढाए काठमाडौँ उपत्यकामा जोखिम

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ असार २०७७, ०७ : २०
लुकिछिपी आउनेले बढाए काठमाडौँ उपत्यकामा जोखिम

फाईल फोटो

काठमाडौँ । प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । ललितपुरमा फेलापरेका सङ्क्रमितका बारेमा भने जानकारी लिने कार्य भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये चार जनालाई उपचार गर्न पाटन अस्पताल र दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ ।

उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस