युद्ध रोक्न चीन र भारतलाई शान्ति समाजको आह्वान

एजेन्सी

विहीबार, ०४ असार २०७७, २० : ४४
युद्ध रोक्न चीन र भारतलाई शान्ति समाजको आह्वान

फाईल फोटो

काठमाडौं । युद्ध अपराध हो भन्ने स्मरण गराउँदै मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित चिनियाँ र भारतीय दूतावास नजिकै एकसाथ धर्नासहित शान्तिपूर्ण प्रदर्शन गरेको छ ।  

चिनियाँ र भारतीय सेनाबीच हालै सिमान्त गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनाँै सैनिक हताहत र घाइते भएका थिए । एशियाका दुई ठूला मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुःखद् हुनुका साथै दक्षिण एशिया र विश्व शान्तिकै लागि पनि खतरा भएको समाजले जनाएको छ ।

चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई नबढाई समझदारीलाई विस्तार गर्न र युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रहसहित समाजले प्रदर्शन गरेको हो । 

चिनियाँ दूतावास अगाडि भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य नम्रता खरेल, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनी, उपसभापति नानीकाजी गिरी, सचिव ईश्वर पुडासैनीसहित दर्जनाँै शान्तिवादीको सहभागिता थियो । 

भारतीय दूतावास नजिक भएको प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारासहित दर्जनौँ शान्तिवादीको सहभागिता थियो । प्रदर्शनमा सहभागीले ‘युद्ध रोक’, ‘शान्तिको प्रवद्र्धन गर’, ‘शान्ति हो, युद्ध होइन’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

असार ४ गते बिहान चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न आग्रह गर्दै शान्ति समाज रुपन्देही शाखाले बुटवलमा र दाङ शाखाले तुलसीपुरमा प्रदर्शन गरेको सभापति पुडासैनीले बताउनुभयो । 

बुटवलको प्रदर्शनमा शान्ति समाजका उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डीपी खनाल, सचिव अर्जुन ज्ञवाली, तुलसीपुरको प्रदर्शनमा केन्द्रीय महासचिव सुशील बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पूर्वसभापति डिल्ली धिताल, निर्मल नेपालीसहित दर्जनाँै शान्तिवादीको सहभागिता थियो । स्मरणीय छ, ‘युद्ध निषेध ः शान्ति विशेष’ भन्ने मूल नारासहित समाजले विशेष अभियान सञ्चालन गर्दै आएको छ 

प्रतिक्रिया दिनुहोस