रामबहादुर बमजनको आश्रममा फेरि छापा

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०७७, १७ : ४५
रामबहादुर बमजनको आश्रममा फेरि छापा

फाइल फाेटाे

सिन्धुली । बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छापा मारेको छ ।

सिन्धुली जिल्ला प्रहरी प्रमुख समेत रहेकी सिग्देलले सिन्धुलीस्थित आश्रममा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छापा मारेको पुष्टि गर्दै भनिन्, 'बमजनलाई विभिन्न उजुरीमा पक्राउ गर्ने आदेश छ। पटकपटक छापा मार्दा पनि उनी भेटिएका छैनन्। यसपालि भने उनी आश्रममै छन् भन्ने सूचना पाएपछि सिआइबी टोली आएको थियो । हामीले यहाँबाट सपोर्टमात्र गरेको हो।'

प्रहरीले आश्रमका विभिन्न भवन र वरिपरि खोजेको थियो। बमजनको आश्रम वरीपरि घना जंगल छ । यसअघि माघ ४ गते पनि प्रहरीले छापा मारेको थियो। तर उनी भेटिएका थिएनन् । बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।  बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ ।

बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।

प्रतिक्रिया दिनुहोस